सिधाखबर \ नेपाल सरकार उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दिलेन्द्र प्रसाद बडुले बन्द भएका उद्योग कलकारखाना सञ्चालन गरिने बताएका छन् । उनले विभिन्न कारणले वर्षौदेखी बन्द भएका उद्योगहरु सरकारले सञ्चालन गरिने बताएका हुन् ।
बन्द र चालु अवस्थामा रहेका उद्योग तथा कलकारखानाको स्थलगत अवस्था बुझ्न औद्योगिक नगरी हेटौंडा आइपुगेका मन्त्री बडुले हेटौंडाका उद्योगी व्यवासायीहरु सँगको छलफलको क्रममा सरकारी स्वामित्व रहेको उद्योगहरु छिट्टै सञ्चालनमा ल्याइने बताए ।
स्थलगत रुपमा उद्योगको अवस्था र समस्या बुझ्न विभिन्न स्थानका पुगी अवस्था बुझेको मन्त्री बडुले भने, नेपालमा आयात बढ्दो छ अपेक्षा अनुरुप निर्यात नभएकाले पछिल्लो समय नेपालको अर्थतन्त्र ठिक छैन् ।
उनी भन्छन्ः केहिवर्ष देखी अर्थचन्त्रमा समस्या छ, उत्पादन बढाउनु पर्नेछ, नीति निर्माण पछि पूर्ण क्षमताका उद्योगहरु पूर्ण क्षमतामै सञ्चालन गरिनुपर्ने बताउछन् । औद्योगिक क्षेत्र पूर्णरुपमा प्रयोग नभएको अवस्थामा नयाँ उद्योग सञ्चालन गर्न स्वदेशी उद्योगीलाई आग्रह समेत गरेका छन् ।
राज्यको स्वामित्व रहेको विराटनगर जुट मिल, जनकपुर चुरोट कारखाना, हेटौंडाको कपडा उद्योग सहित रुग्न अवस्थामा रहेका अन्य उद्योगहरु सरकारले चाडैं सञ्चालनमा ल्याउने तयारी रहेको बताए । उनले राज्य र नीजि साझेदारीमा भएपनि सञ्चालन गरिने बताए । उद्योगीलाई सहज पुग्ने गरि नीति निर्माण गरेर ३० वर्षे लिज भाडा समयलाई बढाएर ५० वर्ष पु¥याउन सरकार तयार रहेको बताए ।
मन्त्री बडुले कुनै उद्योगीले भौतिक संरचना आफैं निर्माण गरि सञ्चालन गरि लिजमा लिनेलाई पनि सरकार तयार रहेको भन्दै व्यवसायीलाई सहुलियतको प्याकेजबारे छलफल भइरहेको बताएका छन् । उनले प्रदेश राजधानी भएको हेटौंडामा नापतौलको कार्यालय संचालन गर्न सरकारले ठोस निर्णय गर्ने भनी उद्योगीलाई आश्वासन दिएका छन् । मन्त्री बडुले विहीबार हेटौंडाको हेटौंडा औद्योगिक क्षेत्र, मयुरधाप औद्योगिक क्षेत्र, उद्योग संघ मकवानपुर लगायत विभिन्न स्थानमा पुगी वस्तुस्थिती बारे जानकारी लिएका थिए ।
मकवानपुरका उद्योग वाणिज्य संघका अध्यक्ष कृष्ण कुमार गुप्ता अग्रवालको अध्यक्षतामा भएको व्यवसायिक छलफलमा अध्यक्ष अग्रवालले समग्र मकवानपुरको उद्योग, वाणिज्यको व्यवसायी तथा उद्योगीहरुको अवस्था र संघले गरेको कार्यहरुबारे जानकारी गराएका थिए । उनले सोही अवसरमा मकवानपुरको उद्योग, वाणिज्यहरुको समस्या, अवस्थाबारे ज्ञापनपत्र समेत बुझाएका थिए ।
कार्यक्रममा नेपाली कांग्रेसका सभापति बुद्ध लामा, नगर सभापति उत्सव इटेनी, महासमिति सदस्य दिनेश उपाध्याय, युवा नेता आनन्दराम पराजुली, मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष भुवनलाल श्रेष्ठ, जीवनकाजी मकाजु, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, पश्चिमी क्षेत्र विकास समितिका अध्यक्ष नारायण सुवेदी, संघका सल्लाहकार महेन्द्र राउत, मकवानपुर चेम्बर अफ कर्मसका अध्यक्ष माधव न्यौपाने, उद्योग,वाणिज्य तथा आपूर्ति मन्त्रालयका सहसचिव बाबुराम गौतम, होटल एशोसिएसन आफ मकवानपुरका संस्थापक अध्यक्ष भगिरथ शर्मा लगायत संघका पदाधिकारी, सदस्यहरुको उपस्थिती रहेको थियो ।