सिधाखबर \ बागमती प्रदेशमा गत आर्थिक वर्षमा मानव अधिकार उलंघनको ३३ वटा उजुरी परेको छ । देशभरमा १०१ वटा उजुरी मध्ये बागमती प्रदेशमा ३३ वटा उजुरी दर्ता भएको जनाइएको छ । प्रदेशको १३ जिल्लाबाट उजुरी पर्दा सबैभन्दा बढी काठमाडौंको उजुरी परेको देखिन्छ । काठमाडौंमा ८ वटा, ललितपुरको ७ वटा, चितवनको ४ वटा, नुवाकोटको ४ वटा उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख सहसचिव यज्ञप्रसाद अधिकारीले बताए ।
त्यस्तै, सिन्धुपाल्चोकको ३ वटा, धादिङ,काभ्रे र दोलखाको २/२ वटा,रामेछापको १ वटा उजुरी परेको बताए । मकवानपुर सहित रसुवा, सिन्धुली र भक्तपुरबाट भने कुनै पनि उजुरी नपरेको अधिकारीले बताएका छन् । प्रदेश कार्यालय हेटौंडाले विहीबार हेटौँडामा पत्रकार सम्मेलनको आयोजना गरि गत आर्थिक वर्ष २०७८/०७९ को मानवअधिकारको अवस्थाबारेको रिर्पोट सार्वजनिक गर्दै १३ जिल्लाको अवस्थाबारे जानकारी दिइएको थियो ।
आयोगमा उजुरी हालेपनि कार्यान्वयनको पक्ष भने फितलो हुँदा न्यायको अनुभव कम हुने गरेको अधिकारीले बताए । उनले उजुरीको अनुसन्धानलाई प्राथमिकतामा राखेर काम गर्ने लक्ष्य लिइएको बताएका छन् । उनले नेपालमा आयोगमा परेका उजुरी मध्ये १०.५ प्रतिशतलाई मात्र कारबाहीको दायरामा ल्याईएको बताए ।
प्रदेशमा नागरिक तथा राजनितिक अधिकार, आर्थिक, सामाजिक र साँस्कृतिक अधिकार, यातना विरुद्धको अधिकार, महिला तथा बाल अधिकार, जातीय विभेद विरुद्धको अधिकार, आप्रवासी कामदार, जेष्ठनागरिकको अधिकार, मानव वेचविखन, वातावरणको अधिकार सम्बन्धी उजुरी पर्ने गरेको अधिकारीले बताए ।
पत्रकार सम्मेलनमा सञ्चारकर्मीहरुले आयोगलाई आवश्यक सुझाव तथा आगामी दिनहरुमा कसरी सँगै अघि बढ्ने विषयमा छलफल समेत गरिएको थियो ।