सिधाखबर \ नारायणी यातायात व्यवसायी संघको ३५ औं वार्षिक साधारण सभा शनिबार हेटौंडामा भएको छ । संघका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षता तथा अग्रज यातायात व्यवसायी टेकनारायण कंडेलको प्रमुख आतिथ्यतामा सभा भएको हो ।
सभामा अध्यक्ष श्रेष्ठले स्वागत भनाई राख्दै संघको क्रियाकलापमा असहयोग गर्नेहरुले संघको लेटर प्याड, छाप र रसिद प्रयोग गर्न बन्देज लगाउन उजुरी दिइएको, अख्तियारमा उजुरी दिइएको, सम्पति शुद्धिकरणमा उजुरी दिइएको, गृह मन्त्रालयमा उजुरी, यात्रुबहाक सवारीहरुको व्यवस्थापनको रकम दुरुपयोग गरेको भनी उजुरी, कम्पनी खोल्न नदिन उजुरी, संघको साधारण सभा रोक्न उजुरी र हेटौंडाको तौलपुल बन्द गर्ने जस्ता क्रियाकलापहरु गरेर संघलाई दुख दिएको बताए ।
उनले सभामा नेपाल सरकारर मातहतका कार्यालयहरुले भारतीय सवारीको खुल्ला प्रवेशको रोक, सवारी साधनको आवश्यकताको पहिचान र आयातको विषय, भाडाका साधनका वितीय लगानीको बारे, ट्रकपार्कबारे, चालक उत्पादन गर्ने प्राविधिक शिक्षाको आवश्यक र अञ्चल नम्बरमा रहेका सवारी सोझै प्रदेश नम्बर हुनुपर्ने जस्ता विषयवस्तुमा ठोस निर्णय लिनुपर्ने बताएका थिए । सभामा महासचिव सरोजकुमार खनाल, कोषाध्यक्ष राजेश खड्गीले प्रस्तुत गरेका प्रतिवेदन सर्व सम्मत पास गरिएको छ ।
सभामा वरिष्ठ यातायात व्यवसायी पुरुषोत्तम अर्याल, हेटौंडा वडा ६ का अध्यक्ष विष्णुबहादुर दाहाल, मउवा संघका निवर्तमान अध्यक्ष कृष्ण कटुवाल, संघका पुर्व अध्यक्ष बद्रीप्रसाद चौलागाई, पुर्वसदस्य देवनारायण लामिछाने, पत्रकार महासंघका अध्यक्ष मणिराज गौतम लगायतको आतिथ्यता रहेको थियो ।