हेटौंडा \ बागमती प्रदेशका भौतिक पूर्वाधार विकास राज्यमन्त्री सन्तबहादुर प्रजाले राष्ट्रिय मानव अधिकार आयोगले सिमान्तकृत तथा पछाडि पारिएका समुदायको मानव अधिकार संरक्षणमा ध्यान दिनुपर्नेमा जोड दिएका छन् । शिक्षा, स्वास्थ्य तथा सबै क्षेत्रबाट पछाडि पारिएका नागरिकहरुमा बढी मानव अधिकार हननका घटना हुने भन्दै उनले त्यसमा आयोगले विशेष ध्यान पुर्याउनुपर्ने बताएका हुन् ।
७४ ओैं अन्तराष्ट्रिय मानव अधिकार दिवसको अवसरमा शनिबार राष्ट्रिय मानव अधिकार आयोग बागमती प्रदेश कार्यालयले आयोजना गरेको कार्यक्रममा बोल्दै प्रजाले आयोगले मानिसको आर्थिक, सामाजिक, सांस्कृतिकलगायतका अधिकार सररक्षित गर्न महत्वपूर्ण काम गरिरहेको भन्दै प्रशंसासमेत व्यक्त गरे । बागमती प्रदेश सरकारले चेपाङ बाहुल्य क्षेत्रलाई चेपाङ संरक्षित क्षेत्र घोषणा गरेर मानव अधिकार प्रवद्र्धनकै काम गरेको स्मरण गर्दै आयोगसँग सरकार सँधै साथसाथै रहेको बताए । मानव अधिकारको प्रत्याभूत गराउन नेपालमा बनेका ऐन कानुनहरुको पालनामा कडाईका गरिनुपर्नेमा पनि प्रजाको जोड थियो ।
मानव अधिकार आयोग बागमती प्रदेश कार्यालय प्रमुख यज्ञप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित बहादुर घलान, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका सचिव विनोद भट्टराई, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलगायतले मन्तव्य व्यक्त गरेका थिए ।
कार्यक्रममा बोल्दै आयोग प्रमुख अधिकारीले पछिल्लो समय प्रदेशमा मानव अधिकारको अवस्थामा सुधार आएको बताए ।
बागमती प्रदेशमा गत आर्थिक वर्षमा मानव अधिकार उलंघनको ३३ वटा उजुरी परेको बताए । देशभरमा १०१ वटा उजुरी मध्ये बागमती प्रदेशमा ३३ वटा उजुरी दर्ता भएको बताएका हुन् । प्रदेशको १३ जिल्लाबाट उजुरी पर्दा सबैभन्दा बढी काठमाडौंको उजुरी परेको देखिन्छ । काठमाडौंमा ८ वटा, ललितपुरको ७ वटा, चितवनको ४ वटा, नुवाकोटको ४ वटा उजुरी परेको राष्ट्रिय मानवअधिकार आयोग बागमती प्रदेश कार्यालयका प्रमुख सहसचिव यज्ञप्रसाद अधिकारीले बताए ।
त्यस्तै, सिन्धुपाल्चोकको ३ वटा, धादिङ,काभ्रे र दोलखाको २र२ वटा,रामेछापको १ वटा उजुरी परेको बताए । मकवानपुर सहित रसुवा, सिन्धुली र भक्तपुरबाट भने कुनै पनि उजुरी नपरेको अधिकारीले बताएका छन् ।