थाहानगर \ जेसीज वर्ष २०२३को अध्यक्ष पदका लागि संगम कार्कीले उम्मेद्वारी घोषणा गरेका छन् । एक व्यक्ति एक पद एक वर्ष कार्यकाल रहने जेसीजको वर्ष २०२२का कानुनी सल्लाहकार समेत रहेका कार्कीले संचारकर्मीहरुसंगको कुराकानीमा आफ्नो उम्मेद्वारी घोषणा गरेका हुन् । थाहा नगरको सामाजिक क्षेत्रमा क्रियाशील पालुङ जेसीजको वर्ष २०२३का लागि कार्की तीन स अर्थात् समानता, सहकार्य र सफलताको मूल सिद्धान्त सहित अध्यक्ष पदको लागि आफू तयार भएको बताएका छन् ।
अंग्रेजी र समाजशास्त्र विषयमा स्नातकोत्तरसम्मको अध्ययन पुरा गर्नुभएको कार्कीले वर्ष २०२३मा उपलब्धिमुलक कार्यक्रम गर्दै सदस्यहरुको व्यक्तित्व विकास सहित गाउँ, समाज र राष्ट्रको विकासमा युवाको क्षमतालाई प्रदर्शन गर्न सक्ने बनाउन विविध कार्यक्रम संचालन गर्ने बताए ।
कार्कीले वर्ष २०२३मा विशेष २३ कार्यक्रम सहित उत्कृष्ट वर्ष बनाउने बताउँदै युवाहरुलाई सूचनाप्रविधिमा जोडेर थाहा नगरको शिक्षा, स्वास्थ्य, सहकारी, पर्यटन, कृषि, राजनीति, व्यक्तित्व विकासको क्षेत्रमा कार्यक्रमहरु तयार गरिएको बताए ।
वर्ष २०१६ मा पालुङ जेसीजको सदस्यता लिनुभएको कार्कीले २०१७ मा साधारण सदस्य, २०१८ मा ओमकर क्वीज कन्टेष्ट संयोजक, २०१९ मा उपाध्यक्ष, २०२०मा कोषाध्यक्ष, २०२१ मा महासचिव र २०२२मा कानुनी सल्लाहकारको भूमिकामा रहि कार्य सम्पादन गरिसकेका छन् ।
पालुङ जेसीज वर्ष २००५ का अध्यक्ष सानोभाई कार्कीका जेठो छोरा हुन् संगम कार्की । आफ्नो बुबाको प्रेरणा र युवाहरुलाई समाज विकासमा प्रेरित गर्न आफुले अध्यक्ष पदमा उम्मेद्बारी रहने बताएका छन् ।
जमर्को नेपालको अध्यक्ष, एन्टिक नेपाल प्रालि (हस्तकला सम्बन्धि तालिम र सीप प्रदान गर्ने संस्था) व्यवस्थापकको जिम्मेवारी बहन गरेका कार्की हाल जनकल्याण माविका शिक्षक, उच्च माद्यामिक शिक्षक संगठनको थाहा नगर संयोजक, नेपाल शिक्षक महासंघ थाहा नगर सदस्य, प्याब्सन थाहा नगर सचिव, हिमालयन ईङ्लिस सेकेण्डरी बोर्डिङ स्कुलको संयोजक, न्यु भिजन एकेडेमी थाहा ३ को संस्थापक, जनकल्याण मावि मानविकी संकाय संयोजक, नेपाल रेडक्रस सोसाइटीको आजिवन सदस्य, अखिल नेपाल शिक्षक संघ मकवानपुर जिल्ला सदस्य, जनशक्ति कृषक सहकारी संस्था थाहा ३ को लेखा समिति सदस्य लगायतको जिम्मेवारीमा रहेका छन् ।