हेटौंडा \ बागमती प्रदेशमा नयाँ सांसदहरुको बैठक राख्नका लागि प्रदेशसभा सचिवालयले सम्पूर्ण तयारी गरेको छ । प्रदेशसभा हल मर्मतको काम देखि सभामुख, उपसभामुख, समितिका बैठक कक्षहरुको तयारी गरिएको छ । बागमती प्रदेशसभा सचिवालयले पहिलो प्रदेशसभा अधिवेशनको तयारी पुरा भएको जनाएको छ । आज पत्रकार सम्मेलन आयोजना गरी बागमती प्रदेशसभा सचिवालयका सचिव कृष्णहरी खड्काले अधिवेशनको तयारी पुरा भएको जानकारी दिएका हुन् ।
प्रदेशसभाको सभाहलमा रंगरोगनको काम भइरहेको छ । पुरानै कुर्सी, टेबल, कार्पेट लगायतका सामाग्री रहने र बैठकका लागि अरु तयारीहरु भने गरिएको उनले वताए । पत्रकार सम्मेलनमा खड्काले प्रदेशसभाको पहिलो बैठकका लागि भौतिक संरचनाहरु निर्माण सम्पन्न भएको बताए । उनले भने, ‘केहि काम थोरै बाँकी छन्, ती काम पनि तिब्रगतिमा सम्पन्नको चरणमा छन् ।’
प्रदेशसभा सदस्यहरुको बैठक अघि हुने सर्वदलीय बैठकको तयारी पनि सुरु भइसकेको उनले बताए । उनले प्रदेशसभाको बैठक कक्षमा रङरोगन सहितका मर्मतका कामहरु सम्पन्न भएको बताए । त्यस बाहेक सभामुख, उपसभामुखको कार्यकक्षलाई ‘रि डिजाईन’ गर्ने काम पनि सकिएको खड्काको भनाई छ ।
बागमती प्रदेशसभाले समानुपातिक सांसदहरूको टुंगो लागेसँगै प्रदेशसभाले ५ वर्षीय कार्याकालका लागि १ सय १० जना सांसद पाउँदैछ । प्रदेशसभाको दोस्रो कार्यकालका लागि चुनिएका सांसदहरूले पुरानो र नयाँ गरी दुई वटा भवनमा बैठक बस्नेछन् । नयाँ भवनमा बैठक कक्ष तयार गर्न फेरि लाखौं खर्च हुनेछ । चालू हालतकै पुरानो बैठक कक्ष भने भत्काएर फेरि खर्च गर्नु उपयुक्त नभएको सरोकारवालाहरू बताउँछन् ।
प्रदेश सरकारले हाल बैठक बस्दै आएको भवनलाई प्रशासनिक काममा प्रयोग गर्ने र संसद् बैठक बस्नको लागि नयाँ भवन निर्माण गरिरहेको हो । २०७७ सालमा प्रदेशसभा हलको निर्माण थालिएको हो । तर, २ सय ५० जनाको क्षमता रहेको उक्त भवनको काम अझै सकिएको छैन । समयमै निर्माण नभएपछि आगामी जेठसम्म म्याद थप भएको छ । तर, पनि काम निरन्तर भएको छैन ।