हेटौंडा \ हेटौंडा उपमहानगरपालिकाकी मेयर मीना कुमारी लामा स्वास्थ्य चौकीमा नियमित स्वास्थ्य जाँच गरिरहेकी गर्भवती महिलाहरुलाई भेटन् हेटौंडा १ नकौली पुगेकी छिन् ।
तीन वर्षदेखि संघीय सरकारबाट प्राप्त पोषण सम्वेदनशील कार्यक्रम को कोशेली बोकेर नगरप्रमुख लामा हेटौडा १ को गाउँ नकौली पुगेकी हुन् । गाउँमा रहेर गर्भवती अवस्थामा अपनाउनु पर्ने सुरक्षा र खानपर्ने पोषणयुक्त खानाको बारेमा जानकारी दिने उद्देश्य सहित उनी नकौली गएकी हुन् । नकौली स्वास्थ्य चौकीमा पुगेर नियमित गर्भ जाँचमा रहेका १३ जना गर्भवतीलाई भेट्दै नगर प्रमुख लामाले गर्भवती अवस्थामा ख्याल गर्नुपर्ने कुराको बारेमा जानकारी दिर्दै आफु र आफ्नो बच्चाको ख्याल गर्न आग्रह गरेकी थिइन ।
स्वास्थ्य संस्थामा गर्भ जाँच गराउन पुगेका गर्भवतीलाई पोषयुक्त खानेकुरा घ्यू, काँचो बदाम, मण्डा, दाल सहित न्यानो कपडा हस्तान्तरण गरिन् । सामग्री हस्तान्तरण गर्दै लामाले बच्चा गर्भमा रहेकै भरमा आफुलाई हिनताबोध नगरी हिम्मतका साथ काम गर्न सुझाव दिँदै गाउँमा रहँदा परेका समस्याका बारेमा जानकारी दिए आफुले सकेको सहयोग गर्ने प्रतिवद्धता जनाइन् ।
उनले नकौलीमा नियमित स्वास्थ्य संस्था सञ्चालनको लागि आवश्यक पुर्वाधार निर्माणमा उपमहानगर लागिरहेको उनले बताइन् । खानेपानीको अभावका कारण महिनामा एक पटक मात्र सेवा दिँदै आएको चौकीबाट नियमित सेवा प्रदान गर्नका लागि चाँडै काम सुरु गर्ने जानकारी दिइन् । सामान्य समस्या लिएर समय खर्च गर्दै बजारसम्म जानुपर्ने बाध्यतालाई हटाउनका लागि पुर्वाधार सम्पन्न स्वास्थ्य चौकी चाँडै सञ्चालन हुने उनले बताइन् ।
उपमहानगर भएर पनि सडक सुविधाबाट समस्यामा रहेका नकौलीका जनतालाई सहज सडक सञ्जालसँग जोड्नका लागि केन्द्र सरकारले ९७ लाख रुपियाँ बजेट दिएको भन्दै अब चाडैं सडकको काम हुने बताइन् । सामग्री हस्तान्तरण कार्यक्रममा हेटौंडा– १ का वडा अध्यक्ष सविन न्यौपाने, कार्यपालिका सदस्य इश्वरी रसाईली, हेटौंडा–१ का वडा सदस्य मनु दाहाल, उपमहानगरपालिका जन स्वास्थ्य अधिकृत भोला चौलागाईको उपस्थिति रहेको थियो ।