सिधाखबर \ गत मंसिर ४ गते भएको प्रतिनिधि सभा/प्रदेश सभा निर्वाचनमा मकवानपुरमा निर्वाचित सांसदहरुको बुधबार हेटौंडामा स्वागत तथा बधाई ज्ञापन प्रदान गरिएको छ । पल्पसा सदनमा एक कार्यक्रमकाबीच निर्वाचित सांसदहरु मकवानपुर क्षेत्र १ का दीपक बहादुर सिंह, २ का महेश बर्तौला, प्रदेशसभाका सदस्यहरु प्रेमबहादुर पुलामी, एकालाल श्रेष्ठलाई बधाई ज्ञापन गरिएको थियो ।
नारायणी यातायात व्यवसायी संघ, मकवानपुर उद्योग वाणिज्य संघ, उद्योग संघ मकवानपुर, निर्माण व्यवसायी संघ मकवानपुर, होटल एशोसियसन मकवानपुरको संयुक्त आयोजनामा निर्वाचित सांसदहरुको स्वागत सम्मान गरिएको हो । नारायणी यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा मकवानपुर उद्योग वाणिज्य संघका अध्यक्ष कृष्णकुमार गुप्ताले स्वागत भनाई सहित मकवानपुरको उद्योग, व्यापार र व्यवसायीहरुको अवस्था, समस्या र चुनौतीबारे आफ्नो भनाई राखेका थिए ।
उनले केही सिमित उद्योग/व्यवसाय बाहेक उद्योग/व्यवसाय क्षेत्र सहज रुपमा संचालन गर्न र उद्यमबाट नै स्थापित हुन असम्भव जस्तै भएको अवस्थामा उद्योग/व्यवसाय क्षेत्रमा समस्याहरु व्याप्त रहेको बताए । राज्यको झन्झट, कानूनी तथा नीतिगत अप्ठ्याराहरुले उद्योग/व्यवसाय जेलिएको अवस्था रहदैं आएको छ र उद्योग/व्यवसायको विकासले मात्र देश समृद्ध हुन्छ भन्ने राज्यकै रटान पनि नारामै सिमित देखिएको बताए ।
आर्थिक मन्दीको चपेटाबाट अर्थतन्त्र गुज्रिरहेको छ । तर योजना आयोग, राष्ट्र बैंक, अर्थ मन्त्रालयजस्ता जिम्मेवार निकायसँग यसको समाधानको लागि कुनै उपाय नभएको जस्तो हामी व्यवसायीहरुमा भएको बताए । उनले मन्दीको समयमा चालु पूजी कर्जा मार्गदर्शन २०७९ ल्याएर च्याप्ने काम गर्नु, व्यापार उद्योगधन्दाको कारोवार घट्नु, तर बैंक व्याज चर्कदैं जानुले व्यवसाय र उद्योगीलाई मार्नु खोज्नु जस्तै भएको बताए । अध्यक्ष गुप्ताले बागमती प्रदेशको राजधानीमै नापतौल कार्यालय नभएको यहाँका व्यवसायी मधेश प्रदेशमा गएर आफ्नो ढक, काटा, लिटर, मिटर जस्ता नापतौल उपकरणहरु दर्ता तथा नविकरण गर्नुपर्ने बाध्यता हटाउन निर्वाचित सांसदहरुलाई आग्रह गरेका छन् ।
राजमार्ग बिस्तार गर्दा मुआब्जा तथा क्षतिपूर्ति दिनुपर्ने संघको धारणा हो । साथै उक्त क्षेत्रमा व्यवसाय गर्ने व्यवसायी प्रत्यक्ष प्रभावित हुने भएकोले मुख्य बजार क्षेत्रमा राजमार्गको बीचभागबाट १६-१६ मिटर हुनेगरी शहरी सडक कायम गरी वैैकल्पिक मार्गलाई राजमार्ग कायम गर्नुपर्ने मध्यमार्ग संघले अवलम्बन समेत बताएका थिए ।
अर्थतन्त्र सहज नभइरहेको हालको चिन्ताजनक अवस्थामा औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले देशभरको औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुको जमिन भाडा आ.व. २०७५/७६ देखि लागू हुनेगरी वृद्धि गरेको प्रति आपत्ति जनाउदैं यस्तो कार्यले के उद्योग क्षेत्र धरासायी बनाउने प्रयत्न गरिएको हो ? भनी प्रश्न गरेका थिए ।
हामीले उद्योग/व्यवसाय सहज संचालन, दर्ता, नविकरण, उत्पादन तथा बजारिकरणको वातावरण चाहान्छौं । राज्यको स्पष्ट नीतिको अभावले गर्दा त्यो सम्भव भएको छैन् उद्योग÷व्यवसायमैत्री राष्ट्रिय नीति निर्माणको लागि निर्वाचित प्रतिनिधिहरुप्रति आग्रह गरेका छन् ।
कार्यक्रममा होटल एशोसियसन मकवानपुरका अध्यक्ष दिलिशगोविन्द जोशीले मकवानपुरमा होटल र पर्यटनलाई जोडेर संघीय सरकार र प्रदेश सरकारले काम गर्नुपर्ने बताए । पर्यटन र होटल व्यवसायको लागि मकवानपुर उपयुक्त रहेकाले आवश्यक कार्य गर्न आग्रह गरेका थिए ।
कार्यक्रममा निर्माण व्यवसायी संघका अध्यक्ष श्यामसुन्दर ढकालले निर्माण व्यवसाय पनि उद्योग सरह धरासयी बन्दै गएको बताए । निर्माण सामाग्री महंगीले गर्दा काम गर्न समस्या उत्पन्न भएको बताए । कार्यक्रममा उद्योग संघ मकवानपुरमा अध्यक्ष स्वागतराज प्याकुरेलले मकवानपुरमा सोचेभन्दा पनि बढी उद्योगीहरुको अवस्था नाजुक रहेको बताए । उद्योग सञ्चालनमा समस्या, आर्थिक संकट र उत्पादित वस्तु विक्री वितरणमा कम भएकाले सञ्चालनमा गाह्रो भएको बताए । बैंक व्याजदर वृद्धि हुनु, औद्योगिक क्षेत्रको जग्गा भाडा वृद्धि गर्नु, बाह्य वस्तु आयात बढ्नुले मकवानपुरका उद्योगीहरुको अवस्था नाजुक रहेको बताए ।
यातायात क्षेत्रको पनि समस्या, अवस्था र चुनौतीलाई अध्यक्ष हिरालाल श्रेष्ठले प्रष्ट पारेका थिए । यातायात क्षेत्रमा पनि यातायात व्यवसायीहरु भाडादर कम हुनु, पेट्रोलियम पर्दाथ वृद्धि, सडक सञ्जालमा समस्या, तौल पुल नहुनु, ट्रकलाई पार्किङ स्थान नहुनु जस्ता समस्याहरु रहेको बताए ।
व्यवसायी र उद्योगीहरुको समस्याहरुको समाधानमा आफुहरु प्रतिवद्ध रुपमा लाग्ने सांसद दीपकबहादुर सिंह, महेश बर्तौलाले बताएका छन् । उनीहरुले आफुहरु व्यवसायीहरुकै साथमा रहने र नीति निर्माण र आवश्यक समन्वय सहकार्यमा साथसाथमा रहने प्रतिवद्धता व्यक्त गरेका थिए ।
आर्थिक तरलताका कारण उद्योग, व्यापार क्षेत्रमा भएको आर्थिक संकट, बैंकको व्याजदर वृद्धिले उत्पन्न भएको समस्याको समाधानलाई आफु लागिपर्ने बताएका थिए ।