हेटौँडा \ बागमती प्रदेश सभामा पहिलो कार्यकालमा भन्दा दोस्रो कार्यकालमा महिलाको प्रतिनिधित्व वृद्धि भएको छ । ११० प्रदेश सभा सदस्य रहेको पहिलो प्रदेश सभामा प्रत्यक्ष र समानुपातिक प्रणालीबाट गरी ३७ जना महिला प्रदेश सभा सदस्य थिए । गत मङ्सिर ४ गते सम्पन्न भएको निर्वाचनबाट प्रत्यक्ष र समानुपातिक प्रणालीबाट गरी ४० जना महिला प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् ।
पहिलो र दोस्रो पटक भएको प्रदेश सभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने प्रणालीबाट यस प्रदेशमा समान पाँच–पाँच जना महिला प्रदेश सभा सदस्यमा निर्वाचित भएका छन् । पहिलो प्रदेश सभाको कार्यकालमा समानुपातिकतर्फ विभिन्न दलबाट गरी ३३.६३ प्रतिशत अर्थात् ३२ जना महिला र १२ पुरुषको प्रदेश सभामा प्रतिनिधित्व रहेको थियो ।
दोस्रो कार्यकालका लागि पुरुष प्रदेश सभा सदस्यको सङ्ख्या नौमा झरेको छ भने महिला प्रदेश सभा सदस्यको सङ्ख्या बढेर ३५ जना अर्थात् ३६.३६ प्रतिशत पुगेको छ । यस प्रदेशको पहिलो प्रदेश सभामा नेपाली कांग्रेसको महिला र पुरुष समान सात–सात जना, नेकपा (एमाले)का महिलामात्र १६ जना, नेकपा (माओवादी केन्द्र)का पाँच महिला र तीन पुरुष, विवेकशील साझा पार्टीका एक महिला र दुई पुरुष, राष्ट्रिय प्रजातन्त्र पार्टीको दुई महिला र नेपाल मजदुर किसान पार्टीका एक महिलाले समानुपातिक प्रणालीबाट प्रतिनिधित्व गर्नुभएको थियो ।
यस्तै दोस्रो प्रदेश सभा कार्यकालमा समानुपातिक प्रणालीबाट कांग्रेसको महिला ११ जना र पुरुष एक जना, एमालेका महिला नौ जना र पुरुष पाँच जना, माओवादी केन्द्रका महिला पाँच र पुरुष दुई, राष्ट्रिय प्रजातन्त्र पार्टीका पाँच महिला र एक पुरुष, नेपाल मजदुर किसान पार्टीका दुई महिला र हाम्रो नेपाली पार्टीबाट एक महिला प्रदेश सभामा पहिलो पटक संसदीय राजनीतिका लागि प्रवेश गर्दै हुनुहुन्छ । समावेशी सिद्धान्तअनुसार बागमती प्रदेश सभाको दोस्रो कार्यकालका लागि समानुपातिक प्रणालीतर्फ आदिवासी जनजातिबाट २२ जना, अल्पसङ्ख्यकबाट कांग्रेस, एमाले र माओवादी केन्द्रका गरी तीन जना, खसआर्यबाट अपाङ्गता भएका एकसहित १७ जना र दलित प्रदेश सभा सदस्यमा एमाले र कांग्रेसका गरी दुई जना छन् ।
आदिवासी जनजातिबाट प्रतिनिधित्व गर्ने २२ जनामध्ये एमालेका तीन र माओवादी केन्द्रका एक गरी चार पुरुष र १८ महिला तथा खसआर्यतर्फ १७ जनामध्ये एमालेका दुई; कांग्रेस, माओवादी केन्द्र र राप्रपाका एक–एक पुरुष र बाँकी महिला प्रदेश सभा सदस्य समानुपातिक प्रणालीबाट निर्वाचित भएका छन् । अल्पसङ्ख्यक र दलित समुदायबाट समानुपातिकतर्फ निर्वाचित सबै प्रदेश सभा सदस्य महिला छन् । - गोरखापत्रबाट