मकवानपुर उद्योग वाणिज्य संघ उद्योगी÷व्यवसायीहरुको संरक्षण तथा पेशागत हितलाई संरक्षण गर्ने मुल उद्देश्य बोकेर गठित संस्था हो । साथसाथै सामाजिक तथा परोपकारी क्रियाकलापहरुमा पनि संघ यथोचित रुपमा सक्रिय छ । मकवानपुर उद्योग वाणिज्य संघ, वि.सं. २०१८ सालदेखि संगठन निर्माण र २०२३ सालबाट विधिवत दर्ता भई आजसम्म निरन्तर संचालित छ । केही सिमित उद्योग÷व्यवसाय बाहेक उद्योग÷व्यवसाय क्षेत्र सहज रुपमा संचालन गर्न र उद्यमबाट नै स्थापित हुन नेपालमा असम्भव जस्तै भएको छ । उद्योग÷व्यवसाय क्षेत्रमा समस्याहरु व्याप्त छन् ।
राज्यले पनि उद्योग÷व्यवसाय क्षेत्रलाई राजश्व संकलन श्रोत भन्दा माथि सोचेको अवस्था छैन । जसलेगर्दा मर्यादित रुपमा उद्योग÷व्यवसाय संचालन गर्ने आधार तयार भएको छैन । तमाम झन्झट, कानूनी तथा नीतिगत अप्ठ्याराहरुले उद्योग÷व्यवसाय जेलिएको अवस्था छ । उद्योग÷व्यवसायको विकासले मात्र देश समृद्ध हुन्छ भन्ने राज्यकै रटान पनि नारामै सिमित देखिन्छ । त्यससंग सम्बन्धित कुनै पूर्वाधार बनाउन राज्य जिम्मेवार देखिन्न । यो तात्कालिक समस्या मात्र नभई भावी पुस्ताकै लागि चुनौति हो भन्ने लाग्छ । समृद्ध मुलुक निर्माणको लागि, उद्योग÷व्यवसायमैत्री चिन्तनको लागि, हामी अपिल गर्दछौं ।
आर्थिक मन्दीको चपेटाबाट अर्थतन्त्र गुज्रिरहेको छ । तर योजना अयोग, राष्ट्र बैंक,अर्थ मन्त्रालयजस्ता जिम्मेवार निकायसंग यसको समाधानको लागि कुनै उपाय छैन, तयारी पनि देखिन्न, जागिरे मानसिकता झल्किन्छ । यो अवस्था लामो समय जान दिन हुन्न भन्ने हाम्रो मान्यता हो । मन्दीको समय छ । चालु पुँजी कर्जा मार्गदर्शन २०७९ ल्याएर च्याप्ने काम भएको छ । व्यापार उद्योग धन्दाको कारोवार घटेको छ । तर बैंक व्याज चर्कदो छ । सयौंलाई रोजगारी दिने उद्योग धन्दालाई संकट उन्मुख बनाउन नहुने हाम्रो जिकिर हो ।
बागमती प्रदेशको राजधानीमै नापतौल कार्यालय छैन । मधेश प्रदेशमा गएर उद्योगी÷व्यवसायीहरुले आफ्नो ढक, काँटा, लिटर, मिटर जस्ता नापतौल उपकरणहरु दर्ता तथा नविकरण गर्नुपर्ने बाध्यता हटाउन जरुरी छ ।
राजमार्ग बिस्तार गर्दा मुअब्जा तथा क्षतिपूर्ति दिनुपर्ने संघको धारणा हो । साथसाथै उक्त क्षेत्रमा व्यवसाय गर्ने व्यवसायी प्रत्येक्ष प्रभावित हुने भएकोले मुख्य बजार क्षेत्रमा राजमार्गको बीचभागबाट १६÷१६ मिटर हुनेगरी सहरी सडक कायम गरी बैकल्पिक मार्गलाई राजमार्ग कायम गर्नुपर्ने मध्यमार्ग संघले अवलम्बन गरेको छ ।
अर्थतन्त्र सहज नभइरहेको हालको चिन्ताजनक अवस्थामा औ द्योगिक क्षेत्रव्यवस्थापन लिमिटेडले देशभरको औद्योगिक क्षेत्रमा रहेका उद्योगहरुको जमिन भाडा आ.व. २०७५÷७६ देखि लागू हुनेगरी बृद्धि गरेको छ । उद्योग क्षेत्र धरासायी बनाउने यो प्रयत्नलाई निस्तेज बनाउन पर्ने आवश्यक्ता रहेको छ । हामी उद्योग÷व्यवसाय सहज संचालन, दर्ता, नविकरण, उत्पादन तथा बजारिकरणको वातावरण चाहन्छौं । राज्यको स्पष्ट नीतिको अभावमा त्यो सम्भव हुन्न । तसर्थ उद्योग÷व्यवसायमैत्री राष्ट्रिय नीति निर्माणको लागि अपिल गर्दछौं ।