हेटौंडा \ नेकपा माओवादी केन्द्र बागमती प्रदेशको संसदीय दलको नेता बन्न आकांक्षी बढ्दै गएका छन् । सरकार निर्माणका लागि माओवादी निर्णायक भएकाले मुख्यमन्त्री बन्ने आकांक्षासहित दलको नेतामा दाबी गर्ने नेताहरु बढेका हुन ।
दलको नेताका लागि अहिलेसम्म शालिकराम जमरकट्टेल, गंगानारायण श्रेष्ठ, युवराज दुलाल र सरल सहयात्रीले दाबी गरेका छन् । बागमती प्रदेशमा २१ सिटसहित तेस्रो दल बनेको माओवादी सरकार निर्माणका लागि निर्णायक देखिन्छ । अहिलेको सत्ता गठबन्धन जारी रहँदा कांग्रेस र माओवादीबीच आधा–आधा कार्यकाल मुख्यमन्त्रीको सहमति हुने देखिएकाले पनि दलको नेतामा दाबी गर्नेहरु बढेका हुन ।
बागमती प्रदेशमा ३७ सिटसहित नेपाली कांग्रेस पहिलो र २७ सिटसहित नेकपा एमाले दोस्रो स्थानमा छन् । कांग्रेस र एमाले मिलेको अवस्थामा बाहेक सरकार गठनका लागि माओवादीको साथ अनिवार्य देखिन्छ ।
चारै जना मुख्यमन्त्रीका आकांक्षी
यसअघि पनि माओवादी संसदीय दलको नेता रहेका जमरकट्टेल यसपालि पनि दाबेदार छन् । यसअघि नेकपा एमाले नेता डोरमणि पोडेल पौडेल र नेकपा एकीकृत समाजवादीका नेता सुरेन्द्र पाण्डे नेतृत्वको सरकारमा मुख्यमन्त्रीपछिको दोस्रो ‘पोजिसन’ रहेका कट्टेल यसपालि मुख्यमन्त्रीको आकांक्षी छन् ।
नेकपा माओवादी केन्द्रको चुनाव चिह्न लिएर चुनाव लडेका नेपाल समाजवादी पार्टीका सहअध्यक्ष गंगनाराण श्रेष्ठले पनि दलको नेतामा दाबी गरेका छन् । बाबुराम भट्टराईले नयाँ शक्ति पार्टी गठन गर्नुअघि माओवादीकै नेता रहेका श्रेष्ठले आफूलाई यसपालि न्याय पाउनुपर्ने बताए । ‘मैले न्याय पाउनुपर्छ भन्ने हो,’ उनले भने, ‘यसमा मुख्य नेतृत्वले सम्बोधन गनुपर्छ ।’
दलको नेतामा दाबी गर्ने दुलाल यसअघि समाजिक विकास मन्त्री भइसकेका छन् । सत्ता गठबन्धनले सरकार सञ्चालनका लागि बनाएको संयन्त्रको समेत उनी संयोजक हुन । यसपालि दलको नेता बनेर मुख्यमन्त्री बन्ने आकांक्षा दुलालको छ ।
माओवादीको बागमती प्रदेश अध्यक्ष समेत रहेका पौडेलले पनि दलको नेतामा आफ्नो बलियो दाबेदारी रहेको बताएका छन् । दलको नेतामा सहमति नभएको अवस्थामा आफू चुनाव लड्ने उनको भनाइ छ । चुनावबाटै माओवादीको बागमती प्रदेश अध्यक्ष जितेका उनले प्रतिस्पर्धाबाटै नेतृत्व छान्ने कुरालाई प्रोत्साहित गर्नुपर्ने बताउने गरेका छन् ।
‘कसले नेतृत्व गर्ने भन्ने विधि बनाउनुपर्छ । त्यही विधिमा पार्टी पनि बन्छ,’ पौडेलले भने, ‘म पार्टीको बागमती अध्यक्ष भएको हुनाले स्वभाविकरुपमा त्यो बिधि निर्माणका लागि दाबी गर्नु पनि स्वभाविक हुन्छ ।’