हेटौंडा \ लोपोन्मुख एवम संरक्षित सूचीमा रहेको सालकको संरक्षण, यसको संख्यामा वृद्धि, आहार, यसको फाईदा, कानूनी प्रावधान लगायतका विषयहरुमा विहिवार हेटौडामा समन्वयात्मक बैठक भएको छ । बैठकमा हिमालयन नेचरका परियोजना अधिकृत प्रदीप सेढाईले नेपालमा सालक संरक्षणको अवस्थाको बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए ।
बैठकमा सहभागिहरुले सालक संरक्षणमा समुदाय सक्रिय हुनु पर्ने, पर्सा वन्यजन्तु आरक्षले सहयोग गर्नु पर्ने, स्थानीय तहले सहजीकरण गर्नु पर्ने, बादरबाट हुने क्षेतीको सरकारले उचित क्षेतिपूर्ती दिनु पर्ने र सालकको संख्यामा वृद्धि गर्न जनचेतना बढाउने लगायतका विभिन्न प्रकारका कार्यहरु गर्नु पर्नेमा जोड दिएका थिए ।
बैठकमा डिभिजन वन कार्यालय, राप्तीका सहायक वन अधिकृत गगन शर्मा, चुच्चेखोला सामुदायिक वनका अध्यक्ष अर्जुनप्रसाद दाहाल र रानी सामुदायिक वनका कार्यालय सचिव भीमसेन पौडेलले सालक संरक्षणमा सामुदायिक वनले गरेका विभिन्न कार्यहरुको बारेमा जानकारी गराउनु भएको थियो ।
बैठकमा चेतना मध्यवती सामुदायिक वनका अध्यक्ष बंशी गोपाल कँडेल, लोकहित सामुदायिक वनका अध्यक्ष चन्द्र बहादुर मोक्तान लगायतकाले सालकको संरक्षणमा गरेका कार्यहरुको बारेमा जनकाारी गराउनु भएको थियो । बैठकमा चुच्चेखोला सामुदायिक वन, चेतना मध्यवर्ती सामुदायिक वन र सिटु मध्यवर्ती सामुदायिक वनका पदाधिकारी र उपभोक्ता पदाधिकारीको सहभागिता थियो ।