सिधाखबर \ मकवानपुर सुरुवा भएका आएका प्रहरी उपरीक्षक बामदेव गौतमले मकवानपुरको शान्ति सुरक्षामा 'नो कम्प्रमाइज' हुने बताएका छन् । शुक्रबार मकवानपुरका सञ्चारकर्मीहरुसँगको छलफलमा उनले मकवानपुर जिल्लाको शान्ति सुरक्षा कायम गर्नको लागि जस्तोसुकै परिस्थितीमा पनि आफु लागिपर्ने बताए ।
मकवानपुरमा भर्खरै प्रहरी प्रमुखको रुपमा आएका प्रहरी उपरीक्षक बामदेव गौतमले जिल्लाको शान्ति सुरक्षा कायम गर्ने कुरामा कुनै कम्प्रोमाइज नगर्ने भन्दै आफ्ना प्रतिवद्धता व्यक्त गरेका छन् । उनले लागू पदार्थ ओसारपसार नियन्त्रणदेखि प्राकृतिक स्रोतको गैरकानुनी दोहन रोक्नेसम्मका योजनाहरु सहितका प्रतिवद्धता व्यक्त गरेका छन् ।
जिल्लामा हुने लागुऔषध नियन्त्रण, जिल्लाको शान्ति सुरक्षा, घरेलु मदिरा नष्ट, यौन व्यवसाय नियन्त्रण, कोरोना भाइरस नियन्त्रणको प्रभावकारी व्यवस्था लगायतका विषयमा आफु प्रतिवद्ध रहेको भन्दै संगठित अपराध तथा गुण्डागर्दी, सिमा अपराध र प्राकृतिक स्रोतको दोहन गर्नेमाथि ‘निर्मम’ प्रहार गर्ने समेत उनले बताएका छन् ।
यस अघि मकवानपुरको प्रहरी नायव उपरीक्षक भई काम गरिसकेका गौतमले घरेलु हिंसा, लैङ्गिक हिंसा, महिला, बालबालिका, ज्येष्ठ नागरिक र अशक्त व्यक्तिमाथि हुने अपराधमा कानुनी कठोरतादेखि मानव अधिकारको संरक्षण र संवद्र्धनमा पनि आफु निरन्तर लागिपर्ने बताए ।
छलफल कार्यक्रममा नेपाल पत्रकार महासंघ मकवानपुर अध्यक्ष मणिराज गौतम, जिप्रका मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्की, प्रहरी निरीक्षक चुडा कुमारी खड्का, बलराम श्रेष्ठ लगायत मकवानपुरका पत्रकारहरुको उपस्थिती रहेको थियो ।