सिधाखबर \ वैदेशिक रोजगारका लागि सात वर्ष युरोप बसाईपछि स्वदेशमै केही गरौं भन्ने उद्देश्यले नेपाल फर्केका हेटौंडा उपमहानगर ७ नागस्वती निवासी गोकुलनाथ पौडेल अन्ततः कुखुरा व्यवसायमा निर्भर हुन पुगे । युरोप रहदाँ सवारी चालक भई काम गर्दा पाएको दुःखलाई बिर्सजन गर्दै स्वदेशको दुःख प्यारो बताउने पौडेल अहिले परिवारका सदस्यहरु सहित ३० हजार कुखुरा पालन गर्दै आइरहेका छन् ।
हुन् त उनी कुखुरा व्यवसायी संघ मकवानपुरको अध्यक्ष पनि हुन् । मकवानपुरमा चार सयजना कुखुरा व्यवसायीहरु सँग प्रत्यक्ष अनुभव साटासाट गर्दै पौडेलले विदेशका दुःख भुलिरहेका छन् । २०६८ सालदेखी पन्ध्र सय लेर्यस कुखुरा पालन व्यवसायबाट यस व्यवसायमा लागेका पौडेलले सुरुको वर्षमा पाँच लाख घाटा व्यर्होनुपर्दा पनि आत्तिएनन् ।
नेपाल आए पश्चात साथीको कुखुरा फर्म हेरेर यस पेशामा लोभिएका उनी पहिलो वर्षमा भएको घाटा तिर्न एक कट्टा जमिन विक्री गर्न बाध्य भएका थिए ।
१० लाख रुपैयाँको लगानीमा यस पेशा सुरु गरेका उनले आज ८ करोडको व्यवसाय गरिरहेका छन् । पहिलो गाँसमा ढुङ्गा लागेपनि पौडेलले दोस्रो पटक ४५ सय कुखुरा पाल्न सुरु गरे । त्यसपछि पौडेललाई राम्रै फाइदा हुन थाल्यो । त्यहि भएर उनी आज सम्म निरन्तर यस पेशामा अडिक छन् ।
बेलाबेलामा देखा पर्ने बर्डफ्ल्यु रोगको शिकार बन्नुपर्दाको पिडा यस पेशमा जटिल रहेको उनी बताउछन् । विमा कम्पनीले ८० प्रतिशत क्षति व्यर्होने भनिएता पनि स्पष्ट पोलिसी नीति नहुदाँ कुखुरा व्यवसायीको समस्या जटिल बनेको उनको धारणा छ । पछिल्लो समय विमा कम्पनीले जोखिम लिन नमाने पछि अहिले कुखुरा व्यवसायीहरुको लगानी बालुवामा पानी हाले सरह भएको उनेको भनाई रहेको छ ।
पौडेलको एक दशक व्यवसायिक अनुभवले कुखुरा व्यवसाय जुवा सरहको खेल भएको बताउछन् । कुखुरा व्यवसाय अरुको हेरेर होइन आफ्नो व्यवस्थापन राम्रो गर्न सके राम्रै फाइदा लिन सकिने पनि उनी बताउछन् । नेपालमा बाहिर देशबाट आयात हुने कुखुरा र अण्डाले स्वदेशी उत्पादन आझेलमा परेको अवस्था रहेको छ । खुला नाका रहेकाले भारतबाट सस्तोमा मासु, अण्डा आयात रहेकाले हामीले स्वस्थ अण्डा तथा मासु उत्पादन गरिएता पनि उचित मुल्य नपाउदाँ किसानहरु मारमा रहेको पौडेलले बताए ।
राज्यले विमा कम्पनी र सरकारी नीति लचिलो बनाएर कुखुरा व्यवसायीलाई सहज बनाउन उनको आग्रह रहेको छ । विहान ६ बजेदेखी राती ९ बजे सम्म कुखुराको हेरचाहमा व्यस्त बनिरहेका पौडेल १५ जनालाई रोजगार दिने रोजगारदाता पनि बनेका छन् । पौडेल कुखुरा व्यवसायी मात्र होइन दैनिक एक सय बोरा दाना उत्पादन गर्ने उद्योग पनि सञ्चालन गर्दछन् ।
हेटौंडा उपमहानगर वडा नम्बर १३ पदमपोखरीमा एक विगाहा जमिनमा २ वटा ठुला खोरमा ३० हजार लेर्यस कुखुरा पाल्दै आइरहेका पौडेल दैनिक अन्य व्यवसायीलाई ४५ बोरा दाना पनि विक्रि गर्दछन् ।
आधुनिक प्रविधिको प्रयोग गर्दै व्यवस्थित रुपमा र्फम सञ्चालन गर्दै आएका पौडेलले हेटौंडा ७ कमानेमा पनि र्फम सञ्चालन गर्दै आइरहेका छन् । यस व्यवसायमा सरकारले चासो राख्न सकेन, कृषि उत्पादनमा अनुदान दिन सकेन भने बाहिरी आयतले यहाँका किसानहरु सडकमा आउने उनको भनाइ छ । यस वर्ष जिल्लामा २० हजार कुखुरा नष्ट गरेको बताउदैं पौडेल भन्छन्ः राज्यले दिने क्षतिपूर्तिमा ढिलाई गरेको कारण व्यवसाय फस्टाउन सकेन ।