हेटौंडा \ बागमती प्रदेश सांसद एवम् सामुदायिक वन उपभोक्ता महासंघ नेपालकी अध्यक्ष भारती पाठकले उपभोक्ताहरुले जोगाएको र हुर्काएको सामुदायिक वनहरु अब उपभोक्तको लागि आयआर्जन र उत्पादनसँग जोडिनुपर्ने बताएकी छिन् ।
हेटौंडा ६ स्थित चुच्चेखोला सामुदायिक वन उपभोक्ता समुहको ३३ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै उनले नेपालमा रहेको सामुदायिक वन उपभोक्ता समुहहरुमा दलित, जनजाती, पिछडिएका वर्गहरुको सहभागिता रहेकोले समृद्धीको लागि हरित उद्यमहरुसँग उपभोक्तालाई जोड्नुपर्ने बताएकी हुन् ।
महिलाहरुको आर्थिक विकास, नेतृत्व विकास र उद्यमविकासको अवधारणा अनुरुप समुहहरुले कार्य गर्नुपर्ने बताउँदै वनमा खेर जाने पात, निगालो, बाँस र ढलापडा काठहरुबाट उद्यम गर्न सकिने बताइन् ।
यसको साथै वनमा लेमनग्रास, मसला, तेजपत्ता जस्ता बिरुवा रोपेर उक्त बिरुवाहरुको पातबाट तेल निकालेर पनि आयआर्जन गर्न सकिने र केही समुहहरुले गरिरहेकोले अबको यात्रा भनेको समृद्धीको यात्रा रहेकोले सबैभन्दा सरल तरिकाले समृद्ध बन्नको लागि समुहहरुको नेतृत्वले ध्यान दिन आग्रह गरेकी छिन् ।
वन समुहका अध्यक्ष अर्जुन प्रसाद दाहालको अध्यक्षतामा भएको सभामा फेकोफन मकवानपुरका अध्यक्ष साधुराम चौलागाई लगायत समुहका पुर्व अध्यक्षहरु, जनप्रतिनीधिहरु लगाएतको आतिथ्यता रहेको थियो ।