हेटौंडा \ सन् २०२२ को जनवरीदेखि डिसेम्बरसम्म अर्थात २०७८ पुसदेखि हालसम्मको अवधिमा मकवानपुर जिल्लामा मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका ७० वटा घटना भएका छन् ।
जसमा राज्यपक्षबाट ७ जना र अन्यपक्षबाट ६६ जना मानिस पीडित भएका अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश कार्यालयले जनाएको छ । जसमध्ये ५० जना महिला, २२ जना पुरुष र १ जना लैङ्गिक तथा अल्पसङ्ख्यक समुदायको व्यक्ति पीडित भएको इन्सेकले जनाएको छ । बाल अधिकारका घटनामा २५ जना बालिका पीडित भएकोमा २१ जना बलात्कारमा परेका छन् भने ३ जना यौन दुर्व्यवहारका घटना र १ नवजात शिशु हत्याको घटनामा भएको थियो ।
मकवानपुरमा २५ वटा घटनामा महिला अधिकारका हनन् भएको थियो । २५ जना महिला पीडित भएकोमा १० जना बलात्कारबाट, ४ जना बलात्कारको प्रयासबाट, ४ जना बहुबिबाह र १ जना बेचबिखनको घटनामा पीडित भएको इन्सेकको प्रतिवेदनमा उल्लेख रहेको छ ।
यस अवधिमा ८ ओटा हत्याका घटना भएकाछन् । जसमा ३ जना महिला र ५ पुरुष छन् । यस्तै १४ ओटा हत्या प्रयासका घटनामा ३ महिला १० जना पुरुष र १ ज लैङ्गिक तथा अल्पसङ्ख्यक महिला पीडित भएको इन्सेकले जनाएको छ । यस वर्ष परिवारजनबाट ४ जना बालिका सहित ५ ओटा बलात्कार, १ यौन दुर्व्यवहार, १ बलात्कार प्रयास र १ नवजात शिशु छोरी सहित ६ ओटा हत्याको घटना इन्सेक प्रदेश कार्यालयका प्रमुख गणेश भण्डारीले बताए ।
त्यस अवधिमा १० ओटा हत्याका घटना भएका थिए । जसमा ५ जना महिला र ४ पुरुष थिए एक कुटपिटको घटना रहेको भण्डारीले बताए । अनौपचारीक क्षेत्र सेवा केन्द्र इन्सेकले प्रकाशन गर्दै आएको नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशनका लागि आयोजना गरिएको पुर्व समिक्षा कार्यक्रममा यस्तो तथ्याङ्क सार्वजनिक गरिएको हो ।
इन्सेक प्रदेश कार्यालय प्रमुख गणेश भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ बागमती प्रदेश निवर्तमान अध्यक्ष प्रताप विष्ट, जिल्ला अध्यक्ष मणिराज गौतम, जिल्ला बार एशोसिएसनका अध्यक्ष अप्सरा बस्नेत, प्रहरी निरीक्षक चुडा कुमारी खड्का, मानव अधिकारकर्मी शर्मिला श्रेष्ठ, अधिवक्ता बालकृष्ण अधिकारी लगायत सञ्चारकर्मीहरुको उपस्थिती रहेको थियो ।