हेटौंडा \ बागमती प्रदेशको कृषि तथा पशुपन्क्षी विकास मन्त्री बसुन्धरा हुमागाईंले आफ्नो कार्यकालमा प्रदेशको कृषि, पशुपन्क्षी तथा मत्स्य क्षेत्रको रुपान्तरणमा महत्वपूर्ण काम भएको दावी गरेका छन् । आफ्नो कार्यकालको १३ महिनाको अवधिमा कतिपय पुराना कार्यक्रमलाई निरन्तरता दिँदै सम्पन्न गर्नुका साथै धेरै नयाँ कार्यक्रम सुरुवात गरिएको मन्त्री हुमागाईंले बताए ।
सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै आफ्नो कार्यकालमा भएका कामहरुको प्रतिवेदन सार्वजनिक गर्दै प्रदेशमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुनै लाग्दा मन्त्रालयबाट बिदा हुने क्रममा रहेका मन्त्री हुमागाईंले आफूले मन्त्री भएर आएपछि ५५ बुँदे मार्गचित्र प्रस्तुत गर्दै सोहीअनुसार कामहरु गरिएको बताए ।
कृषि क्षेत्रमा प्रवाह भइरहेको अनुदान कार्यलाई व्यवस्थित बनाउन वीउपुँजी कोष सम्बन्धी कार्यको सुरुवात गराएका हुमागाईले सो कामलाई आफ्नो कार्यकालको महत्वपूर्ण कामको रुपमा चित्रण गरेका छन् । चालु आवमा प्रदेश सरकारले साना तथा ठूला किसानलाई गरी करिब ५५ करोड वीउपुँजी उपलब्ध गराउन लागेको उनले बताएका छन् ।
अध्यादेशमार्फत कृषि विकास ऐन बनाएर मन्त्रालयले किसान परिचयपत्र वितरण, कृषि बाली वस्तुको न्यूनतम समर्थन मूल्य तोक्ने जस्ता कार्यलाई प्रक्रियामा लगेको र अघिल्लो सरकारले सुरुवात गरेको दुग्ध पाउडर प्लान्ट स्थापनाको कामले हुमागाईको कार्यकालमा निरन्तरता पाउँदै करिब ९५ प्रतिशत सम्पन्न भएको मन्त्री हुमागाईले बताए ।
कृषकलाई दूधमा अनुदान कार्यक्रमलाई निरन्तरता दिँदै प्रतिलिटर दूधमा दिइँदै आइएको अनुदान रकम बढाएर पाँच रुपैयाँ पु¥याइएको छ । विपदबाट क्षति पुगेका कृषकलाई राहत वितरणको कार्य पनि सुरुवात गर्दै यसवर्षको कार्यक्रमलाई प्रक्रियामा लगिएको मन्त्रालयले जनाएको छ । प्रदेशका ३० स्थानमा एक वडा एक पशु स्वास्थ्य क्लिनिक स्थापनाको लागि बोलपत्र आह्वान गरिएको मन्त्री हुमागाईले बताए । माटो परीक्षण कार्यलाई तिव्रता दिनुका साथै वीउमा आत्मनिर्भरता उन्मुख कार्यक्रममा पनि मन्त्रालयले ध्यान दिएको जनाइएको छ ।
फलफूल तथा तरकारी भण्डार क्षमताको शीत भण्डारहरु पनि निर्माणको अन्तिम चरणमा रहनुका साथै प्रदेशका ८ जिल्लाका विभिन्न १० स्थानमा निर्माणाधीन शीत भण्डार निर्माणको करिब ८० प्रतिशत काम सकिएको जनाइएको छ । चितवनमा आधुनिक भेटेरीनरी अस्पताल निर्माणको प्रक्रिया सुरु गरिएको बताउँदै भेटेरीनरी एम्बुलेन्स खरिदको प्रक्रियामा रहेको मन्त्री हुमागाईले बताए ।
अघिल्ला सरकारले ल्याएको राम्रा कार्यक्रमहरुलाई निरन्तरता दिइएको भन्दै मन्त्री हुमागाईंले आगामी सरकारले पनि आफूहरुले ल्याएको कार्यक्रमलाई निरन्तरता दिनुपर्नेमा जोड दिए । कृषि ऐन अनुरुप काम गर्न सके किसानलाई टेवा पुग्नेमा उनको जोड रहेको छ । सुशासन मन्त्री र कर्मचारीबाटै हुनुनपर्ने बताउँदै मन्त्री हुमागाईले रैथाने बाली र वीउबारे कार्य विधिमा रहेकाले कार्यान्वयन गर्न सके यस्ता बालीहरुको वृद्धि विकास हुने बताएका थिए ।
पत्रकार सम्मेलनमा मन्त्रालयका सचिव डा. शरणकुमार पाण्डे, योजना तथा अनुगमन महाशाखा प्रमुख एंव प्रवक्ता झलकनाथ कँडेल, कृषि विकास निर्देशनालयका निर्देशक भरत प्रसाद विडारी, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका नि. निर्देशक बज्रकिशोर ठाकुर लगायतको उपस्थिति रहेको थियो ।