हेटौंडा \ नेपाल राष्ट्रिय मारवाडी युवा दिवसको सन्दर्भमा मारवाडी युवा मञ्च हेटौंडाले हाम्रो घर संस्थामा खाना खुवाउनुको साथै खाद्यान्न वितरण गरेको छ । मंगलबार एक कार्यक्रमकाबीच हेटौंडा–५ मा रहेको हाम्रो घर संस्थाका आश्रितहरुलाई खाना खुवाएर खाद्यान्न वितरण गरेको हो ।
हाम्रो घरलाई चामल, चिउरा, तरकारी, बिस्कुट लगायतका खाद्यान्न सहयोग गरिएको थियो । मारवाडी युवा मञ्च हेटौंडाका अध्यक्ष एवम् नेपाल मारवाडी युवा संगठनका क्षेत्रीय सभापति चिराग अग्रवालको अध्यक्षतामा भएको कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा मारवाडी युवा मञ्च हेटौंडाका निवर्तमान अध्यक्ष एवम् केन्द्रीय सदस्य राहुल जालान, पूर्व अध्यक्ष अजय अग्रवाल, युवा मन्च हेटौंडाका सल्लाहकार राजेश अग्रवाल, हाम्रो घर बालगृहका अध्यक्ष इन्दिरा डल्लाकोटी न्यौपाने, मारवाडी एशोसिएसनका अध्यक्ष पवन अग्रवाल, सल्लाहकार दीपचन्द अग्रवाल लगायतको आतिथ्यता थियो ।
मञ्चका अध्यक्ष चिराग अग्रवालले आगामी दिनमा पनि यस्ता सामाजिक कार्यलाई निरन्तरता दिँदै जाने बताए । हेटौंडा उपमहानगरका उपमेयर बानियाँले सहयोगापेक्षी व्यक्तिहरुलाई आश्रय दिँदै आएको संघसंस्थालाई आवश्यक सहयोगका लागि उपमहानगरपालिका तयार रहेको बताए । सुन्दर, शान्त र सफा हेटौंडा उपमहानगरपालिका बनाउने अभियानमा साथ दिन उनले सबैलाई अनुरोध गरे ।