हेटौडा \ तामाङ समुदायको राष्ट्रिय पर्व २८५९ ह्योईतावार ल्हो (बिरालो वर्ष) सोनाम ल्होछारको अवसरमा हेटौडामा ‘सोनाम ल्होछार साँस्कृतिक महोत्सव’ हुने भएको छ । हेटौडामा पत्रकार सम्मेलन मार्फत नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर र मकवानपुर तामाङ कलाकार संघको संयुक्त आयोजनामा आगामी माघ ७ र ८ गते दुई दिन हेटौडा उपमहानगरपालिका १० स्थित टिसिएन चौरमा ‘सोनाम ल्होछार साँस्कृतिक महोत्सव’ हुने भएको हो ।
कलाकार संघले ल्होछार साँस्कृतिक कार्यक्रमको मिति तय गरिसकेको थियो, कार्यक्रमलाई अझ बृहत बनाउन जिल्लाको तामाङ घेदुङको टिम सहित विभिन्न जातिय संघसंस्था संग मिलेर महोत्सवको रुपमा संयुक्त गर्ने गरि अघि सारेको कलाकार संघका महासचिव रबिन्द्र थिङले बताए । अब हामी बृहत रुपमा गएका छौ, तामाङ गीतसंगीतमा ख्याती प्राप्त राष्ट्रिय तथा स्थानीय चर्चित कलाकारहरुको प्रस्तुति रहने उनले बताए ।
महोत्सव सफल बनाउन विभिन्न ९ उपसमितिहरु गठन गरिएको छ । आर्थिक समितिको संयोजकमा सुरेश लामा, प्रचारप्रसार उपसमितिमा आत्माराम मोक्तान, मन्च व्यवस्थापनमा सानु लामा दोङ, अतिथि सत्कारमा माया घलान, कलाकार व्यवस्थापन उपसमितिमा विक्रम लुङ्गवा, स्वयंम सेवक संयोजकमा सविन मोक्तान, मायाको चिनो व्यवस्थापनमा रविन्द्र थिङ, झाँकी व्यवस्थापनमा पाल्साङ लामा, र स्टल व्यवस्थापनमा सुभाष लामा रहेका छन् । ।
दुई दिन सम्म चल्ने महोत्सवमा तामाङको मौलिक भेषभुषा सहित लामा, बोन्पो झाक्री, ताम्बा, डम्फुरेको झाँक्री प्रदर्शन, भेषभूषा र मौलिक खानाका स्टलहरु रहने आयोजकले जनाएको छ । तामाङको मौलिक संस्कार, संस्कृति, भेषभुषा र भाषाको संरक्षण तथा प्रवर्द्धन गर्दै तामाङ घेदुङ संघीय समितिको (ग्रेन दिम) भवन खरिद सहयोगार्थ महोत्सवको तयारी गरिएको घेदुङ मकवानपुरको जिल्ला कार्यबहाक अध्यक्ष कालु घलानले बताए ।