हेटौडा \ जिल्ला प्रहरी कार्यालय मकवानपुरले अमेरिकी डलर छ सस्तोमा साट्नु पर्यो भनि नगद रकम लुट्ने चारजनालाई पक्राउ गरेको छ । बिहिबार आयोजित पत्रकार सम्मेलनमा उनीहरुलाई सार्वजनिक गरीएको हो ।
मोबाईलबाट सम्पर्क गरी मकवानपुर जिल्लाको विभिन्न स्थानहरुमा विभिन्न मितिमा बोलाई निजहरुको साथमा भएको नगद रकम लुट्ने मानिसहरुलाई अमेरिकी डलर सहित बुधबार पक्राउ गरीएको प्रहरी प्रमुख बामदेव गौतमले बताउनुभयो । उनीहरुलाई हेटौडा १७ हटिया स्थित सालक पार्कबाट पक्राउ गरीएको गौतमले बताए । कार्यालयबाट खटिएको विशेष प्रहरी टोलीले पक्राउ गरी मकवानपुर जिल्ला अदालतबाट म्याद थप गरी थप अनुसन्धान कार्य भईरहेको गौतमले बताउनु भयो ।
पक्राउ पर्नेमा सिन्धुपाल्चोक बाह्रविसे नगरपालिका ३ नम्बर बस्ने २१ वर्षको हरि भन्ने सोम बहादुर डुम्जन,वर्ष ३३ को दिवश डुम्जन, वर्ष २८ को कान्छा भन्ने शेर बहादुर तामाङ,त्रिपुरा गाँउपालिका वडा ३ बस्ने वर्ष २८ को सुक भन्ने देवा डुम्जन रहेका थिए ।
उनीहरुको साथबाट अमेरिकी डलर १ हजार ७४१,नेपाली रुपैया ६ हजार २१०, उनीहरुको साथबाट बा ५० प ९३७२ एफ जेड,बाप्र०२-०१९ प ९६२६,बाप्र०२-०३४प४२८७ मोटरसाईकल ३ थान,कागजको नक्कली नोट ८ बन्डल, गुलेली ३ थान, मट्याङग्रा, साना ढुङगाहरु,मोबाईल ५ थान, मोटरसाईकलको बिलबुक २ थान फेला परेको प्रहरी प्रवक्ता टेक बहादुर कार्कीले बताउनु भयो ।
पक्राउ परेकाहरुलाई मुलुकी फौजदारी अपराध संहिता २०७४ को दफा २४९, २५२ बमोजिम “ठगी आपराधिक विश्वासघात तथा आपराधिक लाभ एक्टर्सन सम्बन्धी कसुर तथा संगठित अपराध सम्बन्धी कसुरमा मुद्धा दर्ता गरी कारबाही प्रक्रिया अगाडी बढाईएको कार्कीले बताउनु भयो ।