हेटौंडा \ नेवाः गुठी खलः हेटौंडा उपमहानगरपालिका तदर्थ समितिको अध्यक्षमा समाजसेवी विकेशलाल श्रेष्ठ चयन हुनु भएको छ । खलः मकवानपुरको दोश्रो वार्षिक साधारणसभाको अवसरमा श्रेष्ठको नेतृत्वमा नौ सदस्यीय तदर्थ कार्यसमिति गठन गरिएको हो ।
समितिको उपाध्यक्षमा अनुषा श्रेष्ठ, सचिवमा राजेश नगरकोटी, कोषाध्यक्षमा अर्चिता श्रेष्ठ, सहसचिवमा अनिल गोपाली, सदस्यहरुमा श्यामकृष्ण श्रेष्ठ, विकी खड्गी, रेणु श्रेष्ठ र निराजन श्रेष्ठ रहेका छन् ।
नेवाः गुठी खलः मकवानपुरका अध्यक्ष अनिल खड्गे, उपाध्यक्षहरु यज्ञबहादुर श्रेष्ठ, मेनुका श्रेष्ठ, महासचिव देवकुमार श्रेष्ठ लगायतले खलः हेटौंडा उपमहानगरपालिका तदर्थ कार्यसमितिलाई फूलमाला लगाएर बधाई तथा शुभकामना दिएका थिए । खलःले हेटौंडा उपमहानगरपालिकाको वडा नम्बर १० र ११ मा वडा समिति गठन गरिसकेको जनाएको छ ।
कार्यक्रममा उच्च अदालत पाटन हेटौंडा ईजालसकी न्यायाधीश मेरिना श्रेष्ठको प्रमुख अतिथ्य, उच्च अदालत पाटन हेटौंडा ईजालसकी न्यायाधीश निर्मला शाक्य र बागमती प्रदेशका सांसद एकालाल श्रेष्ठको विशेष आतिथ्य तथा नेवाः गुठी खलः मकवानपुरका अध्यक्ष अनिल खड्गेको सभाध्यक्षतामा भएको थियो ।
नेवाः गुठी खलः मकवानपुरले कार्यक्रममा नेवार समुदायबाट नवनिर्वाचित जनप्रतिनिधि, अधिवक्ता, कर्मचारी, प्राध्यापक, समाजसेवीलाई बधाई र सम्मान गरेको छ । नेवार समुदायबाट निर्वाचित प्रदेश सांसदहरु, न्यायाधीशहरु, प्रदेश न्यायाधिवक्ता, गाउँपालिका उपाध्यक्षहरु, वडा अध्यक्षहरु, सदस्य, हेटौंडा कार्यपालिका सदस्य, जिल्ला समन्वय समिति मकवानपुरका सदस्य, सरकारी कर्मचारीहरु, प्राध्यापक, समाजसेवीसहित ३० जनालाई सम्मान गरिएको थियो ।