उद्योग संघ मकवानपुर २०३६ सालमा स्थापना भै अनवरतरुपमा यस जिल्लाको औद्योगिक विकास, उद्योगको स्थापना र संचालनमा समन्वयकारी भुमिका सहित औद्योगिक विकाश र निति निर्माणमा संघको धारणा प्रस्तुत गर्दै आइरहेको छ । विभिन्न समयमा आईपर्ने विशेष परिस्थितिहरुलाई झेल्दै, जनयूद्ध, विनासकारी भुकम्प, नाकाबन्दी, कोभिड- १९ जस्ता अफ्ट्यारा परिस्थितिलाई सामना गरेर जेनतेन संचालनमा आईरहेका उद्योगलाई हाल आएर रसिया यूक्रेन यूद्धले सृजित कठिन परिस्थितिले धरासायी हुने स्थितिमा पुऱ्याएको छ ।
आ.व २०७९/८० को पहिलो ६ महिना बित्न लागि सक्दा पनि सरकारको पूँजीगत खर्च भन्ने जम्मा ११.७९५ मात्र छ । कात्तिक मसान्तसम्मको मंहगी वृद्धिदर ८.०८५ पुगेको छ, जो अघिल्लो बर्ष कात्तिक मसान्तसम्म ६।०४५ रहेको थियो भने यो बर्षको कात्तिक मसान्नसम्मको यातायात खर्च वृद्धिदर १७.७१५ रहेको छ । अघिल्लो बर्षको आर्थिक वृद्धिदर ४.२५ रहेकोमा यो बर्षको लागि त्यसको प्रक्षेपण ४.७५ मात्र गरिएको छ ।
यसरी बढ्दो महंगी मागमा आएको उच्च संकुचन, उच्च ब्याजदर र लगानी योग्य पूँजीको अभाव जस्ता कारणले उद्योगी व्यवसायीको मनोबल निकै खस्किएको छ।उद्योगको विकास विना देशको आर्थिक स्थिति र रोजगारीको अवस्था सवल हुन सक्दैन भन्ने हामी सबैले बुझेका छौं । तर उद्योग स्थापना र सञ्चालन हुन सक्ने वातावरण नै बन्न सकेको छैन । उद्योगको लागि आवश्यक न्यूनतम भौतिक पूर्वाधारहरुः जमिन, वाटो, विजुली, पानी आदि जस्ता कुराहरुको विकासमा यथेष्ठ लगानी हुन सकिरहेको छैन । उत्पादनशील क्षेत्रलाई सबल बनाउने खालको निती निर्माण हुन सकेको छैन । उत्पादनशील उद्योगको लगानी र अन्य क्षेत्रको लगानीलाई एउटै (बास्केट)मा राखेर लगानी तथा मौद्रिक नीति निर्माण गरिएको छ ।
जसबाट समग्र उद्योग विकास गर्न सम्भव छैन । कस्ता किसिमका कति उद्योगहरु मूलूकमा सञ्चालित छन् र तिनलाई सवल वनाउन कस्तो किसिमको निती निर्माण गर्नु उपयुक्त हुन्छ भनी तथ्याकंमा आधारित रहेर विश्लेशण गरी कार्य गर्न सकिरहेका छैनौ । नवप्रवर्तनहरुसंग भएका उद्यमशिलतालाई उद्यममा जोड्न आवश्यक पर्ने अध्ययन बिजनेश इन्क्युभेशन सेन्टरहरु स्थापना हुन सकेका छैनन् । आ.व २०७९/८० को लागि प्रस्तुत बजेटमा बिजनेश ईन्क्युबेशन सेन्टर स्थापनाकालगि बजेट छुट्याइएको भनिएता पनि स्पष्ट नीति तथा कानूत तर्जुमा हुन नसकेर अगाडि बढ्न नसकेको स्थिति छ ।
उद्योग स्थापना र सञ्चालनका लागि स्थापना भएका निकायहरुले पनि आफ्नो स्थापनाको उदेश्य अनुसारको भुमिका निर्वाह गरिरहेका छैनन् । त्यसमा पनि औद्योगिक क्षेत्रहरुलाई व्यवस्थित रुपमा सञ्चालन गरी उद्योग स्थापना र सञ्चालनमा सहजीकरण गर्न स्थापना भएको औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेड उद्योग स्थापना र सञ्चालनमा नकारात्मक भूमिका निर्वाह गर्न अग्रसर भएको छ। २०७५ साल देखिको जमिनको वहाल बृद्धि भएको भनि २०७९ सालमा आएर चार वर्ष देखिको वहाल जबर्जस्ति असुल गर्न खोजिरहेको छ । अहिलेको विषम परिस्थितिमा सात सय प्रतिशतसम्म एक तर्फी रुपले वहाल बृद्धि गरि असुल गर्न खोज्नु कदापी न्यायोचित एवं उद्योग मैत्री गतिविधी मान्न सकिदैन । यस्ता खाले गतिविधीले उद्योग स्थापना र सञ्चालनमा नकारात्मक प्रभाव पारिरहेको छ ।
उद्योग स्थापना र सञ्चालनका लागि थुप्रै कुराले प्रभाव पारेको हुन्छ । त्यसमा पनि न्यूनतम भौतिक पुर्वाधार उद्यमशिल क्षेत्रको पहिचान, खोज अनुसन्धानको कमी, प्रविधी बारे जानकारीको अभाव, पुँजी व्यवस्थापनमा कठीनाई, वलियो नेटवर्क र वजारीकरणको समस्या, दक्ष जनशक्ति आपुर्तिको कमी र भएका जनशक्तिहरुको वहिर्गमन र स्वदेशी लगानीको संरक्षण हुने नितीको अभाव जस्ता विषयहरु चुनौतीका रुपमा रहेका छन् । माथी उल्लेख गरिए अनुसारका चुनौतिको सामना गर्न तिनै तहका सरकारले आर्थिक विकासमा आफ्नो ध्यान केन्द्रित गरि चुलिएको व्यापार घाटालाई न्यून गर्न तपशिलका विषयहरुलाई आवश्यक संवोधनका लागि अनुरोध गर्दछु ।
१) औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडवाट एक तर्फि रुपले ७०० प्रतिशत सम्मा बृद्धि गरि चार वर्ष अघि देखिको हाल आएर असुल गर्न खोजिएको वहाल बृद्धि तत्काल खारेज गर्ने र उद्योगीहरुसँगको सहमतिमा मात्र नयाँ भाडा दर कायम गर्ने ।
२) औद्योगिक क्षेत्र स्थित उद्योगहरुले चर्चेको जमिन उद्योग सञ्चालनमा आएपछि सम्बन्धित उद्योगहरुलाई औद्योगिक प्रयोजनका लागि हस्तान्तरण गर्ने वा ९९ वर्षको भोगाधिकार सहितको जमिन उद्योगहरुलाई वहालमा उपलब्ध गराउने ।
३) उद्योगको सम्पतिका आधारमा नभई प्रोजेक्टका आधारमा ऋण प्रवाहको व्यवस्था मिलाउने ।
४) भौतिक पूर्वधारमा लगानि वृद्धि गर्ने, मयुरधाप औद्योगिक क्षेत्रलाई तत्काल संचालनमा ल्याउने ।
५) खोज अनुसन्धान र नवप्रवर्तनका लागि आवश्यक विजनेश इन्क्युवेशन सेन्टर हेटौडा औद्योगिक क्षेत्रमा सञ्चालन गर्ने सरकारको निर्णयलाई तत्काल कार्यान्वयनमा ल्याउने ।
६) पुँजी व्यवस्थापनका लागि उत्पादनशिल उद्योगहरुमा लगानीका लागि छुट्टै नीति तयार गरि लगानीलाई सरलीकृत गर्ने एवं बैंकको व्याजदर एकल अकंमा ल्याउने ।
७) विकास खर्चमा बृद्धि गरी तरलताको अभाव अन्त्य गर्ने ।
८) आवश्यक जनशक्तिको आपुर्तिका लागि विकसित प्रविधिमा आधारित पाठ्यक्रमहरु तयार गरी दक्ष प्राविधिकहरुबाट तालिम दिने व्यस्वस्था मिलाउने एवं प्राविधिक शिक्षालयहरुलाई सोही अनुसार सवलीकृत गर्ने ।
९) खरिद ऐन संशोधन गरी गुणस्तरीय स्वदेशी उत्पादनलाई प्राथमिकता दिने ।
१०) भन्सारलाई व्यवस्थित गरी भन्सार छली गरी तयारी वस्तु भित्रिने क्रमलाई रोक्ने व्यवस्था मिलाउने ।
११) कच्चा पदार्थ र तयारी वस्तुको आयातमा कम्तीमा दुइ तहको भन्सार दर फरक गर्नु पर्ने ।
१२) औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले गरेको सम्झौता अनुसार उद्योग स्थापना हुन नसकेर खाली रहेका जग्गाहरुमा कार्यविधिमा भएको व्यवस्था कार्यान्वयन गरी अन्य उद्योग स्थापना हुने व्यवस्था मिलाउने ।
१३) बन्द रहेका हेटौडा कपडा उद्योग, नेपाल वनस्पति घ्यू उद्योग लगायतका उद्योगहरु सञ्चालनमा ल्याउने र यदि सञ्चालन हुन सक्दैनन् भने त्यहाँ अन्य उद्योगहरु सञ्चालन हुन सक्ने व्यवस्था मिलाउने ।
१४) प्रदेशको पनि राजधानी रहनु का साथै नेपाल कै ठूलो औद्योगिक क्षेत्र रहेको यस हेटौंडामा तत्कालै एक गुणस्तर तथा नापतौल विभागको कार्यालय स्थापना गरी सेवा प्रवाह गर्ने व्यवस्था मिलाउने ।
उद्योग संघ मकवानपुरले उद्योग स्थापना र सञ्चालनमा सहजीकरण एवं नवप्रवर्तनका लागि व्यवसाय सम्बर्धन केन्द्र स्थापना कार्यलाई अघि वढाएको छ। त्यसको लागि प्रदेश सरकार एवं केन्द्रिय सरकारबाट सहयोग हुने अपेक्षा राखेका छौं। त्यस्तै संघले महिला उद्यमी मञ्च तथा यूवा उद्यमी मञ्च गठन गरि महिला र यूवाहरुलाई उद्योगमा आकर्षित गर्दै आएको छ । हामी जुनसुकै प्रतिकुल परिस्थितिमा पनि उद्योग सञ्चालनमा आउनु पर्छ भन्ने उदेश्यका साथ आफ्ना सदस्य प्रतिष्ठानहरुमा देखिने समस्या समाधानका लागि अग्रसर रहन्छौं । श्रमसंग सम्वन्धित समस्याहरु जिल्लाका जिम्मेवार ट्रेड युनियनहरुसंग समन्वय गरी समाधान गर्दै आएका छौं । आउँदा दिनहरुमा पनि स्थानिय सरकार, प्रदेश सरकार, जिल्लाका प्रशासनिक कार्यालयहरु, राजनितिक पार्टी तथा ट्रेड युनियनहरुसंग र आफ्ना छाता संगठनहरु नेपाल उद्योग परिसंघ र औद्योगिक क्षेत्र उद्योग महासंघ लगायतका संस्थाहरुसंग समन्वय र सहकार्य गरी जिल्लाको औद्योगिक विकासमा क्रियाशिल रहने प्रतिवद्धता व्यक्त गर्दछौं ।
यस संघले आफ्नो सामाजिक दायित्वलाई वहन गर्दै राहत वितरण, सामाजिक संघ संस्थालाई सहयोग तथा कोरोना नियन्त्रण लगायतका गतिविधिहरुलाई निरन्तरता दिँदै आएको छ । संघको सचिवालयवाट प्रवाह गर्दै आएको निशुल्क परिवार नियोजन एवं स्वास्थ्य परिक्षण र प्राथमिक उपचार सेवालाई निरन्तरता दिइनेछ।
स्वागत राज प्याकुरेल
अध्यक्ष , उद्योग संघ मकवानपुर