हेटौंडा \ नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी) मकवानपुरको संगठन विस्तार तथा जनपरिचालन अभियान सुरु भएको छ । पार्टी केन्द्रीय निर्देशन अनुसार जिल्लाका सबै पालिका र वडाहरुमा संगठन विस्तार तथा जनपरिचालन अभियान सुरु गरिएको पार्टीले जनाएको छ ।
शुक्रबार हेटौंडामा भएको जिल्ला कमिटि बैठकले दश वटै पालिकामा संगठन विस्तारको कामलाई अघि बढाउनका लागि जिम्मेवारी तोकिएको छ । पार्टीले संगठन सुद्धिढीकरण अभियान लाई माघ देखि चैत्र सम्म सञ्चालन गर्नका लागि जिल्ला कमिटिका उपसचिव किशोर टण्डन र कविन पन्तको टोलीलाई निर्वाचन क्षेत्र नम्बर १ मा तथा उपसचिव बेगम बराल र किरणमान बलको टोलीलाई निर्वाचन क्षेत्र नम्बर २ को जिम्मेवारी दिर्दै संगठन विस्तार तथा जनपरिचालनको जिम्मेवारी दिएको छ ।
बैठकले जिल्लामा रहेका दश पालिका तथा जनसंगठनहरुमा अभियानलाई सञ्चालन गर्न संयोजक तथा सदस्यहरु तोकेको छ । पार्टीले अभियानलाई पालिकामा लैजानका लागि बागमतीमा नारायण तिमल्सिना,बकैयामा कविन पन्त, मकवानपुरगढीमा कृष्णबहादुर राई, इन्द्रसरोवरमा ध्रुव बहादुर भूजेल, थाहा नगरपालिकामा किरणमान बल, भीमफेदीमा किशोर टण्डन, कैलाशमा रामकुमार एलन, राक्सिराङ र मनहरीमा भूमिनन्द अर्याल र हेटौंडा उपमहानगरपालिकामा पार्टी अध्यक्ष विष्णुप्रसाद दाहाल संयोजक रहेको टोली परिचालन गर्ने निर्णय गरेको हो ।
त्यस्तै जनवर्गिय संगठनतर्फ युवा संघमा माधव तिमल्सिना, विद्यार्थिमा अरुण बतौंला, अनेम संघमा बेगम बराल, जनसांस्कृतिक मञ्चमा शान्तिप्रिय बन्दनालाई जिम्मेवारी तोकिएको नेकपा एस मकवानपुरका सचिव ध्रुव बहादुर भुजेलले जानकारी दिए । जिम्मेवारी प्राप्त संयोजक तथा निर्वाचन क्षेत्र नम्बरको जिम्मेवारी पाएकाहरुले गरेको पार्टीको संगठन विस्तार तथा जनपरिचालनको कामको अनुगमन तथा आवश्यक सहजिकरण पार्टिका केन्द्रीय स्थाई कमिटि सदस्य तथा जिल्ला इन्चार्ज ललितबहादुर बस्नेत सहितको टोलीले गर्ने उनले बताए ।
पार्टीका जिल्ला अध्यक्ष विष्णुप्रसाद दाहालको अध्यक्षतामा भएको बैठकमा नेकपा एसका केन्द्रीय उपाध्यक्ष केदार न्यौपाने, स्थाई कमिटि सदस्य तथा प्रदेश अध्यक्ष सावित्रा भूषाल, स्थायी कमिटि सदस्य बिरोध खतिवडा, स्थाई कमिटि सदस्य तथा जिल्ला इन्चार्ज ललित बहादुर बस्नेत, केन्द्रीय सदस्य मुनु सिग्देल, केन्द्रीय सदस्य सुर्यचन्द्र न्यौपाने, केन्द्रीय परिषद् सदस्य मिनाकुमारी लामाले संगठन विस्तार गर्दै पार्टीलाई सुद्धढ बनाउन सबै तहबाट लाग्न आग्रह गरेका थिए ।