हेटौंडा \ आन्तरिक मामिला तथा कानून मन्त्री कृष्णप्रसाद शर्मा खनालले डिजिटल साक्षरताले अबको मार्ग प्रशस्त गरेको र उहिलेको पत्रकारिताले इतिहासलाई स्मरण गराएको बताएका छन् ।
सञ्चार रजिष्ट्रारको कार्यालय बागमती प्रदेशद्धारा प्रकाशित पुस्तक आइतबार हेटौडामा बिमोचन गर्दै मन्त्री खनालले यी दुवै पुस्तकले बागमती प्रदेश र आफनो मन्त्रालयको साख बढाएको बताए । अब प्रविधिसँग जोडिएन भने पछाडि परिन्छ, डिजिटल साक्षरता पुस्तकले प्रविधिसँग जोड्न मद्दत पुग्ने मन्त्री खनालले बताए ।
आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव नारायण शर्माले सञ्चार रजिष्ट्रार कार्यालयले गरेको सिर्जनात्मक कार्य प्रशंसनीय रहेको बताए ।
उहिलेको पत्रकारितामा निरन्तरताको इतिहासका रुपमा भैरव रिसाल, मोफसलको धरोहरको रुपमा नारायणप्रसाद शर्मा, स्वरकी खानीको रुपमा कृष्णा ताम्राकार, पत्रकारिताका गुरु लालध्वज देउसा राई पत्रकारका गुरु रामकृष्ण रेग्मीका अनुभव समेटिएको छ । उक्त पुस्तक पत्रकारिता इतिहासको अभिलेख पनि हो । इतिहासका प्रमाणिक सूचना त्यस्ता व्यक्तिहरुसँग हुन्छन् जसले आफनो जीवनको उर्वरशिल समय सूचना संकलन, प्रशोधन र सम्पादनमा खर्चेको सञ्चार रजिष्ट्रार रेवती प्रसाद सापकोटाले बताए ।
‘सत्ता पक्ष, प्रतिपक्ष, प्रशासनिक संरचना र नागरिक सबैतिरका सूचना संकलन, प्रशोधन र सम्पादन गरेको अनुभव संगालेका जेष्ठ पत्रकार आफैमा जिउँदा इतिहास हुन । जेष्ठ पत्रकारसँग रहेका सूचना इतिहासका साक्षी प्रमाण रहेको बताए ।
पुस्तकमा समेटिएका जेष्ठ पत्रकार भैरव रिसाल ९४ वर्ष, नारायण शर्मा ९१ वर्ष, लालध्वज देउसा राई ८९ वर्ष , कृष्णा ताम्राकार ८२ वर्ष र रामकृष्ण रेग्मी ७५ वर्षको रहेको रजिष्ट्रार सोपकोटाले बताए । पत्रकारितामा उहाँहरुका भोगाई, उहाँहरुले गरेको पत्रकारिताको अभ्यास, भोग्नु परेका चुनौती र संघर्षक कथा पुस्तकमा समेटिएको उनले बताए ।
प्रतिनिधि पात्रका रुपमा नेपालको इतिहासमा पहिलो पटक सरकारीतहबाट जेष्ठ पत्रकारको अनुभव अभिलेखीकरणको सुरुवात गरिएको छ । उहाँहरुको दृष्टिकोणमा अबको पत्रकारिताको दिशाका बारेमा पनि पुस्तकमा पढन पाइनेछ । ‘उहिलेको पत्रकारितामा समेटिएका जेष्ठ पत्रकारका ज्ञान,सीप र अनुभव नयाँ पुस्ताका पत्रकार र इतिहासका विद्यार्थीका लागि खोज र अनुसन्धान गर्ने विषय हुने जनाइएको छ ।
सूचना प्रविधिको आधारभुत ज्ञान हासिल गर्न चाहनेका लागि यस पुस्तक महत्वपूर्ण रहने जनाइएको छ । डिजिटल साक्षरता पुस्तकले डिजिटल डिभाईस, हार्डवेयर र सफटवेयर, कम्प्युटर नेटवर्किङ, इन्टरनेट, इन्ट्रानेट र एक्स्ट्रानेट, मोडेम,राउटर र स्वीच , थ्रीजी, फोरजी र फाइभजी, इन्टरनेट सेवा प्रदायकका बारेमा जानकारी गराउने छ ।
उक्त पुस्तकमा वेवसाइट, डोमेन नेम, सर्च इन्जिन, सामाजिक सञ्जाल, भियोडी र ओटिटी प्लेटफर्म, इकमर्स, डिजिटल बैंकिङ, विटक्वाइन र क्रिप्टोकरेन्सी, साइबर अपराध र सुरक्षा, साइबर हमला, ह्याकिङ र क्रयाकिङका बारेमा जानकारी उपलब्ध छन् । भाइरस र स्पाइवेयर, एन्टिभाइरस, सुरक्षा फायरवाल, भिपिएन, इन्टरनेट अफ थिङग्स (आइओटी), आर्टिफिसियल इन्टेलिजेन्स, अल्गोरिदम, मेसिन लर्निङ, विग डाटा, क्लाउड कम्प्युटिङ र क्लाउड स्टोरेजका बारेमा पुस्तकले जानकारी दिनेछ । पुस्तकमा इ गभरमेन्ट र इन्टरनेट कभरनेन्स, इन्टरनेट अधिकार, डिजिटल डिभाईड, इन्टरनेट र कानून, इन्टरनेट र बौद्धिक सम्पति, प्रतिलिपि अधिकार, पब्लिक डोमेन, ओपन सोर्स, इन्टरनेट र गोपनियता, फेक न्यूज र डिजिटल साक्षरताका बारेमा पुस्तकमा जानकारीमूलक सामग्री समेटिएको छ ।