हेटौंडा \ हेटौंडा उपमहानगरपालिकाको ५४ औं स्थापना दिवसको अवसर पारेर माघ २५ बाट सप्ताहव्यापी कार्यक्रम घोषणा गरीएको छ ।
उपमहानगरपालिकाको १३ औं कार्यपालिका बैठकले स्थापना मनाउनका लागि गठन गरेको अतिरिक्त क्रियाकलाप समितिको बैठकले माघ २५ गते हेटौंडा-७ को नागस्वती खेल मैदानमा पुरुष/महिला फुटबल, माघ-२६ गते हेटौंडा–४ हुप्राचौरमा महिला/पुरुष भलिवल, माघ-२७ गते महिला पुरुष डण्डि बियो, माघ २८ गते टोल विकास संस्था नगर र वडा समन्वयसँग म्युजिकल चियर प्रतियोगिता गर्ने भएको छ ।
त्यस्तै दिवसको अवसरमा उपमहानगरले सञ्चालन गर्दै आएको सफा हेटौंडा अभियान अन्तरगत हेटौंडा–१० बसपार्क क्षेत्रमा सरसफाई सहित माघ २९ गते रक्तदान कार्यक्रमको तयारी गरेको समितिका संयोजक तथा हेटौंडा–१५ का अध्यक्ष सुनिल मोक्तानले बताए ।
नगरको कार्यपालिका बैठकले स्थापना दिवसलाई भव्य रुपमा मनाउनका लागि नगर प्रमुख मिनाकुमारी लामाको संयोजकत्वमा मुल समारोह समिति गठन गरेको छ । समितिको सह-संयोजकमा नगर उपप्रमुख राजेश बानियाँ र सदस्यहरुमा १९ वडाका अध्यक्ष, कार्यपालिका सदस्यहरु रहेको समितिका सदस्य सचिवमा प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाई रहेका छन् ।
मुल समारोह समितिले उपमहानगरको ५४ वर्षको इतिहासबारे जानकारी गराउनका लागि पालिकाका प्रवक्ता तथा हेटौंडा–१ का अध्यक्ष सविन न्यौपाने संयोजक रहेको स्मारिका प्रकाशन समिति, हेटौंडा–६ का अध्यक्ष विष्णुबहादुर दाहाल संयोजक रहेको सम्मान तथा शिष्टाचार समिति, प्रमुख प्रशासकीय अधिकृत शिवराज चौलागाइ संयोजक रहेको नगर दिवस व्यवस्थापन समिति गठन गरेको छ ।
स्मारिका प्रकाशन समितिको सदस्यमा उपमहानगरका सामाजिक विकास महाशाखा प्रमुख भीमप्रसाद तिमल्सिना, नगरप्रमुख सचिवालयका प्रमुख जगन्नाथ सापकोटा, नगर प्रमुखका प्रेस संयोजक राजन दाहाल र सुचना प्रविधि अधिकृत भानुभक्त थपलिया रहेका छन् । सम्मान तथा शिष्टाचार समितिको सदस्यमा हेटौंडा–१४ का वडा अध्यक्ष दीपक खड्का, हेटौंडा १६ का अध्यक्ष रामकृष्ण कोइराला, कार्यपालिका सदस्य इश्वरी विक, नगरसभा सदस्य रञ्जु लामा र सदस्य सचिवमा उपमहानगरका प्रशासन प्रमुख शान्ती विक रहेका छन् ।
अतिरिक्त क्रियाकलाप समितिको सदस्यमा कार्यपालिका सदस्य साधना श्रेष्ठ, नगरसभा सदस्य सविना विडारी, सन्तुमाया पाख्रिन, इन्द्रप्रसाद रिजाल रहेको समितिको सदस्य सचिवमा बसन्तकुमार सिटौंला सदस्य सचिव रहेका छन् । स्थापना दिवसको लागि गठित नगर दिवस व्यवस्थापन समितिको सदस्यमा सबै महाशाखा प्रमुख, आर्थिक प्रशासन, कृषि, सुचना प्रबिधी, फोहर मैला तथा व्यवस्थापन, समन्वय शाखाका प्रमुखहरु र नगर प्रहरी इन्चार्ज रहेका छन् ।
कार्यपालिका बैठकबाट स्थापना दिवस मनाउनका लागि समिति गठन गरिसकेपछि सबै समितिहरुले जिम्मेवारी पुर्वक कामलाई तीव्र गतिमा अघि बढाएका उपमहानगरपालिकाका प्रवक्ता सविन न्यौपानेले जानकारी दिए । उपमहानगरले तत्कालीन नगर पञ्चायतको २०२६ फागुन १ गते बसेको बैठकलाई आधार मानि स्थापना दिवस मनाउने तयारी गरेको उनले बताए ।