हेटौंडा \ मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा आज बुधबार चर्चित गायक युवराज चौलागाई आउने भएका छन् । युवा पुस्तामा चर्चित रहेका गायक चौलागाईले आफ्नो प्रस्तुती दिनेछन् । चलचित्रमा हिट गीत दिन सफल रहेका गायकका लै लै..., छुटे पछि त छुट्यो माया..., सँगै हिड्दा हिड्दै..., साँझ पख..., लैजा चरी..., एकोहोरो माया... लगायतका चर्चित गीतहरु रहेका छन् ।
महोत्सवमा गायक विश्व नेपाली र गायिका शीलु भट्टराईको पनि सांगीतिक प्रस्तुती रहने आयोजकले जनाएको छ । मंगलबार पुराना लोक गायक घमेश दुलाल, गायिका अस्मिता अधिकारी, कमेडियन प्रभात लामाको प्रस्तुती दिएका थिए । साथै हेटौंडामा रहेको जमादार ग्रुपको स्वदेशी अभियानको प्रवद्र्धन तथा प्रोत्साहनका लागि चर्चित गायक प्रकाश सपुतले विशेष सांगीतिक प्रस्तुती दिएका थिए ।
साथै महोत्सवमा हरेक दिन मकवानपुरका स्थानीय कलाकारहरुले नृत्य प्रस्तुत भइरहेको छ । महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगितामा पनि दैनिक भइरहेको छ । आजबाट हेटौंडामा टप टेनमा पर्ने प्रतिस्पर्धीहरुलाई एसएसएस र टिकटको अर्धकट्टीबाट भोट गर्न सकिनेछ । भोटिङ राउण्ड सुरु भएकाले आफ्नो मनपर्ने प्रतिस्पर्धीलाई भोटिङ गर्न सकिनेछ । राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको फेसबुक पेजमा भोटिङ गर्ने तरिका र प्रतिस्पर्धीको कन्टेस्ट नम्बर राखिएको छ ।
११ गतेबाट सुरु भएको महोत्सव माघ २३ गते सम्म सञ्चालन हुनेछ । महोत्सवमा विभिन्न किसिमका वस्तु विक्री तथा प्रदर्शन,बाल उद्यान, साँस्कृतिक कार्यक्रम, राष्ट्रिय तथा स्थानीय कलाकारको प्रस्तुती, हेटौंडा आइडल, हेटौंडा डान्सिङ स्टार, निशुल्क स्वास्थ्य शिविरहरु महोत्सवमा रहेको संघका महासचिव दीपक उप्रेतीले बताए ।
महोत्सवमा मंगलबार निशुल्क स्वास्थ्य शिविरमा हेटौंडा सामूदायिक आँखा अस्पतालबाट सेवा प्रदान गरिएको छ । आज बुधबार भने चुरेहिल हस्पिटल प्रा.लिका विशेषज्ञहरुद्धारा स्वास्थ्य सेवा प्रदान गरिने आयोजकले जनाएको छ ।