सवारी दुर्घटनामा परी बागमती प्रदेशका १० जिल्लामा गत आर्थिक वर्ष २०७८/०७९ मा ४१३ जनाको मृत्यु भएको छ । बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाको तथ्याङ्कअनुसार काठमाडौं उपत्यकाका ३ जिल्लाबाहेक प्रदेशका अन्य १० जिल्लामा गत आर्थिक वर्षको विभिन्न समयमा भएको सवारी साधन दुर्घटनामा उनीहरुको ज्यान गएको हो ।
ज्यान गुमाउनेहरूमा सबैभन्दा बढी संख्या पुरुषको रहेको छ । प्रदेशका मकवानपुर, चितवन, धादिङ, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, काभ्रे, दोलखा, रामेछाप र सिन्धुलीका विभिन्न स्थानमा भएको ती दुर्घटनामा परी ३२६ जना पुरुषले ज्यान गुमाएका छन् ।
त्यस्तै ती दुर्घटनामा परी ३२ जना महिला, १८ जना बालक र ७ जना बालिकाको मृत्यु भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाकी प्रमुख प्रहरी नायव महानिरीक्षक किरण बज्राचार्यले जानकारी दिइन् । उनका अनुसार २ हजार ६१६ वटा सवारी साधनहरु संलग्न ति दुर्घटनामा परी १ हजार १२ जना गम्भीर घाइते भएका छन्भने २ हजार ९८३ जना सामान्य घाइते भएका छन् ।
चितवनमा सबैभन्दा बढी दुर्घटना, रसुवामा कम
गत आर्थिक वर्षमा बागमती प्रदेशको १० जिल्लामध्ये चितवनमा सबैभन्दा बढी दुर्घटना भएका छन् । चितवनको विभिन्न स्थानमा गत आर्थिक वर्षमा ५३२ वटा सडक दुर्घटना भएको प्रहरीको तथ्याङ्कमा उल्लेख छ । चितवनमा भएको ति दुर्घटनामा ८०६ वटा ट्रक, ट्यांकर, बस, जिप, टेम्पो, मोटरसाइकल लगायतका सवारीहरु संलग्न भएको प्रहरीले जनाएको छ ।
उक्त दुर्घटनामा परी चितवनमा १३९ जनाले ज्यान गुमाएका छन् । जसमा १०६ जना पुरुष, २१ जना महिला, ११ जना बालक र १ बालिका रहेका छन् । ती दुर्घटनामा परी २५४ जना गम्भीर र ७१३ जना सामान्य घाइते भएका छन् ।
रसुवामा भने गत आर्थिक वर्षमा सबैभन्दा कम सवारी साधन दुर्घटना भएका छन् । रसुवामा एक वर्षमा १३ वटा मात्र सवारी दुर्घटना भएका छन् । १३ वटा दुर्घटनामा ४ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा २ जना पुरुष र १/१ जना महिला र बालिका रहेका छन् । १५ सवारी साधनहरु संलग्न उक्त दुर्घटनामा परी १० जना गम्भीर र ६ जना सामान्य घाइते भएका छन् ।
त्यस्तै मकवानपुरमा भएको ३१८ वटा सवारी दुर्घटनामा परी ७० जनाको मृत्यु भएको छ । जसमा ४६० वटा साना तथा ठुला सवारी साधनहरु संलग्न रहेका थिए । दुर्घटनामा मुत्यु हुनेमा ६३ जना पुरुष, ५ जना महिला र १/१ जना बालक तथा बालिका रहेका छन् । दुर्घटनामा १८१ जना सामान्य र ५७७ जना गम्भीर घाइते भएका छन्।
त्यसैगरी सिन्धुलीमा २९१ वटा सवारी दुर्घटनामा परी ४४ जनाको मृत्यु भएको छ । साना ठुला गरी ४०० वटा सवारीसाधन संलग्न उक्त दुर्घटनामा ३८ जना पुरुष, ४ जना महिला र १/१ जना बालक र बालिकाले ज्यान गुमाएका छन् । सो दुर्घटनामा ३९० जना सामान्य र १५३ जना गम्भीर घाइते भएका छन् ।
गत आर्थिक वर्षमा रामेछापमा ३२ सवारी दुर्घटना भएका थिए । उक्त दुर्घटनामा १४ जना पुरुष र ८ जना महिला गरी २२ जनाको मृत्यु भएको थियो । सो दुर्घटनामा १९ जना गम्भीर र ७४ जना सामान्य घाइते भएका छन् ।
गत आर्थिक वर्षमा दोलखामा भएको ४० सवारी दुर्घटनामा परि ५ जनाको मृत्यु भएको थियो । मृत्यु हुनेमा सबै पुरुष रहेका छन् । ५१ वटा सवारी साधनहरु संलग्न उक्त दुर्घटनामा परि ३८ जना गम्भीर र ३७ जना सामान्य घाइते भएका छन्।
उता काभ्रेमा गत आर्थिक वर्षमा ५१ वटा दुर्घटना भएका थिए । सो दुर्घटनामा ३१ जना पुरुष, ५ जना महिला, ४ जना बालक र १ जना बालिका गरी ४२ जनाको ज्यान गएको थियो । दुर्घटनामा परी ७७ जना गम्भीर र २३७ जना सामान्य घाइते भएका छन् ।
गत आर्थिक वर्षमा ६७ वटा सवारी दुर्घटना भएको सिन्धुपाल्चोकमा २० जनाले ज्यान गुमाएका थिए । ८५ वटा सवारी साधनहरु संलग्न भएको उक्त दुर्घटनामा १४ जना पुरुष, ५ जना महिला र एक जना बालकको मृत्यु भएको छ । दुर्घटनामा १४ जना गम्भीर र २४३ जना सामान्य घाइते भएका छन् ।
नुवाकोटमा भएको १४ वटा दुर्घटनामा परि १४ जनाको मृत्यु भएको छ । जसमा १० जना पुरुष, ३ जना महिला र एक बालिकाको मृत्यु भएको छ । दुर्घटनामा परि ५३ जना गम्भीर र ८२ जना सामान्य घाइते भएका छन् ।
त्यस्तै धादिङमा गत आर्थिक वर्षमा भएको २७२ वटा सवारी दुर्घटनामा परी ५३ जनाको ज्यान गएको छ । ज्यान गुमाउनेहरुमा ४३ जना पुरुष, ९ जना महिला र एक जना बालिका रहेका छन् । दुर्घटनामा परी १८६ जना गम्भीर र ४७७ जना सामान्य घाइते भएका छन्।