हेटौंडा \ बागमती प्रदेशको मन्त्रीपरिषद्को बैठकले मंगलबार प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा होमनाथ चालिसलाईे नियुक्त गरेको छ । मंगलबार बसेको प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले चालिसेलाई आयोगको उपाध्यक्षमा नियुक्त गरेको हो ।
प्रदेश सरकारले नीति तथा योजना आयोगको सदस्यहरुमा भने नियुक्त गर्न बाँकी रहेको छ । अरु सदस्यहरु भने नेकपा एमाले र राप्रपाको भागमा पर्ने बुझिएको छ । हाल ललितपुरमा बस्दै आएका चालिसे लुम्बिनी प्रदेशको बर्दियाका हुन् । चालिसे जनसंख्या र बुढ्यौली विद् हुन ।
अध्ययन र अनुसन्धानमा क्षेत्रमा कृयाशील चालिसे विश्व स्वास्थ्य संगठन जेनेभाको स्वस्थ बुढ्यौली शताब्दी कार्यक्रमका विज्ञ सदस्य समेत हुन् । त्रिभुवन विश्व विद्यालयमा जनसंख्या विषय अध्यापन समेत गराउछन् ।
नेपाल जनसंख्या संघको उपाध्यक्ष रहेका उनले जापानको टोकियो विश्वविद्यालयबाट विद्यावारिधि गरेका हुन् भने अमेरिकाबाट रिसर्च पूरा गरेका हुन् । अमृत साइन्स क्याम्पसबाट बीएससीसम्मको अध्ययन गरेका उनले स्नातकोत्तर त्रिभुवन विश्वविद्यालयबाट गरेका थिए । उनी सो ब्याचका गोल्ड मेडलिस्टसमेत हुन् ।
यस्तै मन्त्रिपरिषद्को बैठकले प्रदेशमा बोलिने दुई राष्ट्रिय भाषा नेवा र तामाङ भाषालाई कामकाजको भाषा बनाउने प्रक्रिया शुरु गरेको छ । सरकारले कसरी बनाउन सकिन्छ भन्ने विषयमा अध्ययन गर्न समिति बनेको छ । समितिमा सामाजिक विकास मन्त्री कुमारी मोक्तान, श्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठ र वन तथा वातावरण मन्त्री राजु विष्ट रहेको प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री जगन्नाथ थपलियाले जानकारी दिए ।
यस्तै मन्त्रिपरिषद बैठकले प्रदेशबाट एकीकृत सेवा प्रदान गर्ने विषयमा अध्ययन गर्न प्रदेशका प्रमुख सचिवको नेतृत्वमा समिति बनाउने निर्णय गरेको छ । यस्तै यस अघि गरेको खर्च कटौतिका विषयमा प्राप्त प्रतिवेदन अध्ययन गरेपश्चात लागू गरीने मन्त्री थपलियाले बताए।