हेटौंडा \ बागमती प्रदेश सरकार मातहत रहेका ७ वटा जिल्ला अस्पताललाई बुधबार एम्बुलेन्स हस्तान्तरण गरिएको छ । प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय अन्तरगतको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्र हेटौंडाले प्रदेशको सात वटा प्रादेशिक अस्पतालहरुलाई एक-एक वटा एम्बुलेन्स हस्तान्तरण गरेको हो ।
५२ लाख ९० हजार रुपैयाँका दरले टेण्डर मार्फत खरिद गरिएको सात वटा एम्बुलेन्स बुधबार हस्तान्तरण गरिएको हो । सात वटा एम्बुलेन्सको कुल लागत ३ करोड ७० लाख रुपैयाँमा खरिद गरिएको हो । खरिद गरिसकिएको एउटा एम्बुलेन्स भने केही दिनमा हस्तान्तरण गरिने भएको छ ।
केद्रको परिसरमा आयोजित कार्यक्रममा प्रदेशको स्वास्थ्य मन्त्री रामेश्वर श्रेष्ठले प्रादेशिक अस्पतालका प्रमुख तथा प्रतिनिधिहरुलाई एम्बुलेन्स हस्तान्तरण गरेका थिए । उनले भक्तपुर अस्पताल, बज्रबाराही चापागाउँ अस्पताल, टोखा चण्डेश्वरी अस्पताल, पशुपति चौलागाईँ स्मृति अस्पताल दोलखा, मेथिनकोट अस्पताल काभ्रे, रामेछाप अस्पताल र बकुलहर रत्ननगर अस्पताललाई (ख) वर्गको एम्बुलेन्स हस्तान्तरण गरेका हुन् ।
हस्तान्तरण गर्दै मन्त्री श्रेष्ठले सरकारको दायित्व जनताको स्वास्थ्य सुरक्षा भएकोले आफू मन्त्री नियुत्त भएपछिको पहिलो निर्णय नै एम्बुलेन्स प्रदान गर्ने र जनस्वास्थ्यको चासो राख्ने रहेको बताएका थिए । स्वास्थ्यको पहुँच सबैतिर पुर्याउनका लागि आग्रह गर्दै प्रदेश सरकारले स्वास्थ्य नीति लिएर काम गर्ने बताए ।
एम्बुलेन्समा बिरामी सहित बिरामीको २ जना कुरुवाहरु, स्वास्थ्यकर्म बस्ने सुविधादेखि अत्याधुनिक सेवा सुविधा अन्तरगत डेलिभरी सेट, ड्रेसिङसेट, वासिङ यक्युुपमेन्ट,टु वे भिडियो कन्भसेसन डिभाइस, मोबाइल डिभाइस, फो जि कनेक्टेभिटी डिभाइस,वाकीटकी, क्यामरा, जिपिए सिक्टम समेत जडान गरिएको स्वास्थ्य आपुर्ति व्यवस्थापन केन्द्रका निमित्त निर्देशक डाक्टर अर्जुनप्रसाद सापकोटाले बताए ।