हेटौंडा \ हेटौंडा बजार क्षेत्रमा छरिएर रहेका सवारी मर्मत केन्द्रलाई एकै ठाउँमा सारीने भएको छ । बजारको सौन्दर्यमा सुधार गर्नका लागि हेटौंडा–११ को राप्ती नदी उकास करिब ३१ बिगाहा जमिनमा बन्ने अटोभिलेज सवारी मर्मतका बर्कसपहरु सारीने भएका हुन् ।
बजार क्षेत्रमा छरीएर रहेका सवारी मर्मत केन्द्रलाई एकिकृत गर्दै सञ्चालनमा ल्याउन लागिएको अटो भिलेजको हेटौंडा उपमहानगर मेयर मीनाकुमारी लामा शिलान्यास गरीन् । बागतमी सरकारका पहिलो मुख्यमन्त्री डोरमणी पौडेलको समयमा निर्माण गरिएको डिपीआरको आधारमा अटो भिलेज सञ्चालन हुने भएको हो ।
नगरका अटो ग्यारेजलाई नदि उकास जमिनमा स्थानान्तरण गर्ने उद्धेश्यले अटोभिलेज सञ्चालनको तयारी गरिएको बताइएको छ । वागमती प्रदेश भौतिक पूर्वाधार मन्त्रालयले गत वर्ष ५ करोड रुपियाँ बजेटमा तटबन्ध गरेपछि जग्गा निस्किएको हो । शिलान्यास गरिएको क्षेत्रको जग्गा फिलिङ गर्नका लागि उपहानगरपालिकाले पहिलो चरणमा १४ लाख ६ हजार रुपियाँ बिनियोजन गरेको छ । उपमहानगरले विनियोजन गरेको रकमबाट पहिलो चरणमा जमिन समस्याउने सहितको काम थालिएको हो ।
अटो भिजेजको शिलान्यास गर्दै उपमहानगरका प्रमुख मिनाकुमारी लामाले एकिकृत अटोभिलेज सञ्चालनका लागि उपमहानगर सहयोग र समन्वय गर्न तयार रहेको बताइन् । एकीकृत अटोभिलेजका नाममा सञ्चालन हुने स्थानमा व्यवसायीलाई आफूले चाहेको क्षेत्रफलको जग्गा लिजमा उपमहानगरले उपलब्ध गराउने उनले बताइन् । व्यवसायीले आफूलाई चाहेको डिजाइनको अस्थायी स्वरुपको टहरा निर्माण गरेर काम गर्न सकिने नगर प्रमुख लामाको भनाई थियो । अटो भिजेजमा चार्ज स्टेशन, थ्रि–वाइलर, फोर– वाइलर सवारी मर्मत केन्द्र, खेलमैदान, स्वास्थ्य चौकी, हेबी सवारी मर्मत, हेव इक्वमेन्ट मर्मत, पार्किङ र डम्पिङ साईड रहने अटो मोबाइल इञ्जिनियरिङ एसोसिएसनका अध्यक्ष आनन्दराम पौडेलले बताए ।
अटो मेकानिक्स तथा इञ्जिनियरिङ एसोसिएसनले २०५३ सालदेखि अटोभिलेजको आवाज उठाएको थियो । २०५३ असोज ८ गते जग्गा उपलब्ध गराइदिन नगरपालिकालाई आग्रह गरिएको थियो । तत्कालिन समयमा नगरपालिकाले जम्मा चार कठ्ठा जग्गा उपलब्ध गराउज भनेपछि नारायणी यातायात व्यवसायी संघले उपलब्ध गराएको जग्गाको क्षेत्रफल कम भएकाले प्रयोगमा ल्याउन नसकिएको अध्यक्ष पौडेलल बताए । शिलान्यास भएको स्थलमा २ सय ५० अटो व्यवसायीले अपनत्व लिने क्षेत्रमा सबै प्रकारका इञ्जिनियरिङ वर्कसपका काम हुने एसोसिएसनले जनाएको छ । अटोभिलेज निर्माणपछि बजार क्षेत्रका तीनपांग्रे सवारीसाधनको वर्कसप सोही क्षेत्रमा ल्याउन पहल गरिन बताइएको छ ।
प्रदेशका पूर्व मुख्यमन्त्री डोरमणि पौडेल हेटौंडा नगरपञ्चायत प्रमुख रहदा बनाइएको योजना उनी मुख्यमन्त्री भएर रकम बिनियोजन गरेपछि अटोभिलेजले पूर्णता पाउन सकेको पौडेलले स्मरण गरे । ‘यसअघि रातोमाटेमा पनि पूर्वाधार तयारीकोे लागि पहल गरेका थियौं । तर, अवरोध भएपछि हामी ब्याक भएका हौं । तर, हामी निरन्तर खटेकै कारण र मुख्यमन्त्री पौडेलकै कारण शिलान्यास गर्न पाएका छौं,’ अध्यक्ष पौडेलले भने ।
२०५४ सालमा बनेको योजना साकार भएपछि वर्कसप व्यवसायी खुशी देखिएको व्यवसायी शम्भु नकर्मीले बताए । २०६२ असोज १९ गते तत्कालीन चुरियामाई गाविसलाई गरिएको आग्रहबमोजिम २० बिगाह जग्गा उपलब्ध गराउने सिफारिससहित जिल्ला विकास समितिलाई २०६४ पुस १६ गते सिफारिस गरिएको थियो । तर, आधिकारिक निकाय जिल्ला प्रशासन कार्यालयले बेवास्ता गर्दा त्यही बेलादेखि अटोभिलेजको अवधारणा साकार हुन सकेको थिएन ।