हालसम्मकै ठुलो धनराशीको पुरस्कार दिने घोषणा गरिएको रियालिटी शो मेरो डान्स मेरो भ्वाईसको युरोप अडिसन आईतबार बेल्जियमको लेन्त शहरमा सुरु भएको छ । हेरेन्तको कार्पिनस होटेलमा आयोजना गरिएको मिट एन्ड ग्रिट कार्यक्रमबारे जानकारी गराइएको थियो ।
विश्वका विभिन्न देशमा रहेका करिब ७ लाख नेपाली भाषीहरुका नव प्रतिभाहरुलाई प्रोत्साहित गर्न र नेपाली जातिको एकता मजवुत बनाउने उद्देश्य राखेर आयोजना गर्न लागिएको यो रियालिटि शो को बारेमा जानकारी दिदै आयोजक संस्था इन्ट्रा फाउन्डेशनका अध्यक्ष डिल्ली अधिकारीले भुटान कागजको भन्दा भावनाको राष्ट्रियता बलियो हुने भएकोले फाउन्डेशन नेपाली भावना बोकेका प्रवासी नेपालीहरुलाई एकतावद्ध गर्न आयोजना गर्न लागिएको बताउनु भयो ।
उहाँले अमेरिका र क्यानडामा बस्ने नेपाली भाषीहरुमा मात्र सिमित रहेको मेरो डान्स मेरो भ्वाइस रियालिटी शोलाई विश्वव्यापी बानाएर नेपाली कला संस्कृति उत्थान गर्न सकिने हुँदा आफुहरु युरोपका प्रतिभा खोज्दै आएको बताउनु भयो । युरोप पछि दुबई ,थाइल्यान्ड,अस्ट्रेलियामा अडिसन लिने प्रतिभा छनोट गर्ने कार्यक्रम रहेको पनि कार्यक्रममा जानकारी गराइएको थियो ।
एनआरएनए बेल्जियमका अध्यक्ष खड्क बहादुर केसीले इन्ट्रा फाउण्डेशनले गर्न लागेको रियालिटी शो मेरो डान्स मेरो भ्वाइसको सफलताको शुभकामना सहित फाउण्डेशनका पदाधिकारी र निर्णायकहरुलाई स्वागत गर्नुभयो । एनआरएनए पनि नेपाली कला संस्कृतिको विकासमा सक्रिय रहेको भन्दै मिलेर काम गर्नका लागि प्रस्ताव गर्नुभयो ।
कार्यक्रमलाई शुभकामना दिदै बेनेक्स एवम् युरोपियन युनियनका लागि नेपाली राजदुत गेहेन्द्र राजभण्डारीले नेपाली भाषा, कला संस्कृतिलाई टेवा पुग्ने कार्यक्रम युरोपमा हुनु खुसीको कुरा भएको र विश्वभरिका नेपालीहरुको सहभागिताले भावनात्मक एकतालाई बलियो बनाउने उहाँले बताउनु भयो । भुटानमा जन्मे हुर्केका नेपाली दाजुभाइहरुले थालेको नेपाली गीत संगीत र नृत्य प्रतियोगिताको कार्यक्रमको सफलताको लागि नेपाल सरकारको तर्फबाट आवश्यक सहयोग रहने उहाँले बताउनु भयो ।
कार्यक्रममा युरोप अडिसनका निर्णायकहरु गायिका शर्मिला वर्देवा, सुनिता दुलाल, र नारायण धिताल, नायिका केकी अधिकारी लगाएतलाई सम्मान गरिएको थियो । युरो नेपाल कलाकार संघका कलाकारहरुले सांस्कृतिक कार्यक्रम प्रस्तुत गरेका थिए भने कार्यक्रमको रुपरेखा र उद्देश्यका बारेमा पत्रकार नरेश भट्टराईले प्रकाश पार्नु भएको थियो । गायिका बर्देवा, गायक बलराम पुन र लोक दोहरी गायिका दुर्गा गुरुङले आआफ्ना गीत प्रस्तुत गर्नुभएको थियो ।