हेटौंडा \ बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले देशको मध्य विन्दुमा रहेको हेटौंडा उपमहानगरपालिकालाई व्यवस्थित शहरको रुपमा विकास गर्न सुझाब दिएका छन् । उपमहानगरपालिकाको ५४ औं स्थापना दिवसलाई संबोधन गर्दै प्रदेश प्रमुख शर्माले बागमती प्रदेशको राजधानी समेत रहेको हेटौंडाको विकास मोडल देश भर पुग्न आवश्यक रहेको बताए । उनले चारैतिरबाट सडक संजालले जोडिएको हेटौंडा आउने र जानेले यहाँको अनुशरण गर्ने भन्दै उनले शहरलाई व्यवस्थित बनाउन जोड दिए ।
२०४८ सालको परिवर्तन पछि नगरको विकास सुरु भएपनि प्रयाप्त विकास हुन नसकेको तर्फ ध्यान दिन उनले जोड दिए । अहिले पनि बजारका सडक मर्मत हुन नसकेको अवस्थालाई सुधार्न सुझाब दिएका थिए । उनले राजमार्गको विस्तार र सुधारका कार्यमा ध्यान दिन सबैलाई आवहन गरे ।
कार्यक्रममा पुर्व नगर प्रमुख डोरमणी पौडेलले हेटौंडाले दिने सकारात्मक सन्देश मुलुकको सबै भागमा पुगेको बताए । हरित र सुन्दर शहरको रुपमा रहेको हेटौंडालाई बागमती प्रदेशको राजधानी शहरको रुपमा चिनाउन आवश्यक रहेका बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाले नगरको विकासका लागि सबैको भूमिका आवश्यक रहको बताइन् । उनले बजारको शौन्दर्य बढाउन २५ मिटर बाटो विस्तार जरुरी रहेको भन्दै यस तर्फ संघ, प्रदेशसरकार र स्थानीय दलको एक मत हुन आवश्यक रहेको बताइन् ।
उनले पर्याप्त गुणस्तरीय पूर्वाधार सहितको सफा हेटौंडा स्वस्थ्य हेटौंडाको अभियान मार्फत नगरबासीहरुको सहभागितामा स्वच्छ सृजनशील समृद्ध औद्योगिक नगरको परिकल्पना सहित मुलुककै उत्कृष्ट शहर निर्माणमा सबैको साथ सहयोगको अपेक्षा गरेको बताइन् ।
कार्यक्रममा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलान, हेटौंडा उपमहानगरापालिकाका उपप्रमुख राजेश बानियाँ, नेकपा एमालेका उपाध्यक्ष लालबहादुर थापा, मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष दोर्जे लामा स्याङतान, इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनी, मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डे लगाएतकाले मन्तव्य व्यक्त गरेका थिए ।