मल्टीस्टारर चलचित्र ‘फूलबारी’ आज शुक्रबारबाट प्रदर्शन भएको छ । ‘कबड्डी’ समुहको चलचित्र भएकाले दर्शकमा अपेक्षा उच्च छ भने कात्तिकदेखि खडेरी बेहोरिरहेको नेपाली चलचित्रको बजारलाई चलायमान बनाउने आशा पनि गरिएको छ । एउटा परिवारमा आउने उतारचढावको कथामा निर्माण भएको चलचित्रको ट्रेलरले जुनखालको प्रतिक्रिया पाएको छ, त्यसले सफलताको संकेत समेत गरेको छ ।
तर, चलचित्रको प्रचार अपेक्षाकृत हुन सकेको छैन । केही दिन मोफसल भ्रमणपछि चलचित्रको प्रचार केही सुस्ताएको जस्तो भान भएको छ । चलचित्रका प्रमुख दुई अभिनेता विपिन कार्की र दयाहाङ राई छायांकनमा व्यस्त हुँदा प्रचारको कमान्ड अभिनेत्री द्वय प्रियंका कार्की र शिल्पा मास्केले सम्हालेका थिए । दुवैको करिअरका लागि यो चलचित्र विशेष भएकाले पनि उनीहरुले प्रचारमा पर्याप्त समय दिएका थिए ।
चलचित्रमा विपिन कार्की, अरुणा कार्की, दयाहाङ राई, प्रियंका कार्की, गौमाया गुरुङ, शिल्पा मास्के, सोमनाथ खनाल, अनुपम शर्मा, मनिष ढकाल लगायतका कलाकार मुख्य भूमिकामा रहेका छन् ।
विपिनले चलचित्रमा अवकाशप्राप्त शिक्षकको भूमिका निर्वाह गरेका छन् । उपेन्द्र सुब्बाको लेखन, कमल किशोर माल्पानीको कथा एवं परिकल्पना रहेको चलचित्रको निर्माता मनिष ढकाल हुन् । आजबाट देशभर प्रदर्शन भएको चलचित्र हेटौंडाको एनएस सिनेमा हलमा पनि प्रदर्शन हुनेछ ।