हेटौडा \ अन्तराष्ट्रिय सालक दिवसको अवसरमा हेटौडाको सालक पार्कमा बृहत अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको छ । हेटौडा–६ मा रहेको रानी सामुदायिक वन उपभोक्ता समूह र चुच्चेखोला सामुदायिक वन उपभोक्ता समूहको संयुक्त आयोजनामा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रमलाई डिभिजन वन कार्यालय, मकवानपुर र राप्तीले आर्थिक सहयोग गरेका थिए ।
अन्तरक्रियामा सहभागि सामुदायिक वनका प्रतिनिधिहरुले सालकको संरक्षण, आहारमा वृद्धि, बासस्थान संरक्षण, जनचेचना अभिवृद्धि लगायतका विषयहरुमा छलफल गरिएको थियो । मकवानपुर जिल्लालाई सालकको गौरवको जिल्ला घोषणा लगायतका विषयहरुमा समेत सहभागिहरुले जिज्ञासा राखेका थिए । सालक किसानको साथी भएकोले यसको संरक्षण महत्वपूर्ण भएकाले यसको संरक्षणमा सबै लाग्नु पर्नेमा सहभागीहरले जोड दिएका थिए ।
कार्यक्रममा डिभिजन वन कार्यालय, मकवानपुरका प्रमुख शिव सापकोटाले सालक संरक्षण र यसको बासस्थानको लागि वन कार्यालयले सहयोग गर्ने बताए । सालक अभियन्ता एवम डिभिजन वन कार्यालय,राप्तीका प्रमुख विष्णु प्रसाद आचार्यले अव सबैले सालकको महत्व बुझि यसको संरक्षण लाग्न आग्रह गरेका छन् ।
कार्यक्रममा हेटौडा–१७ का वडा सदस्य नवराज न्यौपाने, सामुदायिक वन उपभोक्ता महासंघ, मकवानपुरका अध्यक्ष साधुराम चौलागाई, संरक्षणकर्मी तुलसी लक्ष्मी सुवाल, जेडएसएलका प्रतिनिधि प्रचण्डमान महर्जन, डिभिजन वन कार्यालय, मकवानपुरका सहायक वन अधिकृत बसन्तराज गौतम, रानी सामुदायिक वनका अध्यक्ष विष्णुप्रसाद न्यौपाने, अशोक सामुदायिक वनका अध्यक्ष रमेश राई, चुच्चेखोला सामुदायिक वनका उपाध्यक्ष उमेश अधिकारी, रानी सामुदायिक वनकी सचिव नानीमायाँ रुम्बा, कार्यालय सचिव भीमसेन पौडेल, वन समूहका पदाधिकारी र कर्मचारीहरुको सहभागिता थियो ।
कार्यक्रम चुच्चेखोला सामुदायिक वनका अध्यक्ष लक्ष्मण कटुवालको अध्यक्षतामा भएको थियो । मकवानपुरमा हेटौडा–६, चौघडामा रहेको रानी सामुदायिक वनले २०६१ सालदेखि सालकको संरक्षण गर्दै आएको छ । हाल समूहको क्षेत्रभित्र करिव ५० वटा सालक रहेको अध्यक्ष विष्णुप्रसाद न्यौपानेले बताए । घाईते सालकको उद्धार गर्न समूहले ब्लक नं. ५ मा सालक केज समेत निर्माण गरेको छ । अत्यन्त लज्जालु हुने यो सालकको बासस्थान र यसको आहारमा वृद्धि गर्न सके मकवानपुर जिल्लालाई सालकको गौरबको जिल्ला घोषणा गर्न सकिने संरक्षणकर्मीहरु बताउछन ।
राष्ट्रिय निकुञ्ज तथा बन्यजन्तु संरक्षण ऐन २०२९ अनुसार सालक पक्रने शिकार गर्ने खपटाको ब्यापार गर्ने ओसारपसरा गर्नेलाई १ लाख देखि ५ लाख सम्म जरीवाना वा १ वर्ष देखि १० वर्षसम्म कैद वा दुबै सजाय हुने कानूनी व्यवस्था छ । विश्वमा ८ प्रजातीका सालक पाईन्छ भने नेपालमा कालो र तामे गरि २ प्रकारका सालक पाईन्छ ।