गैर आवासिय नेपाली संघका संस्थापक उपाध्यक्ष राम प्रताप थापाले गैर आवासीय नेपाली संघलाई उपलब्धि मुलक बनाउन नसकिएकोमा चिन्ता व्यक्त गर्नु भएको छ । उहाँले एनआरएनएको मुलमर्म बिर्सेर राजनिति हाबी हुन थालेपछि उपलब्धि विहिन भएको बताउनु भयो । गैर आवासीय नेपाली संघ भित्र विशाल उपल्बधि हुदै गर्दा यो उपलब्धि बेक्कार हुने होकि भन्ने डर आफुलाई लाग्ने गरेको उहाँले बताउनु भयो ।
जर्मनका लागी नेपाली अवैतानिक महावाणिज्य दुत समेत रहेका थापाले नेपालले दोहोरो नागरिकताको प्रावधान ल्याउन नसके हानिकारक हुने समेत बताउनु भयो । नेपालमा जन्मेर हुर्केर केही कमाउने आशा बोकी विदेश आएका नेपालीहरुको सपनालाई पछिल्लो नेपालको परिस्थितिले चिन्तामा लगेको उहाँले बताउनु भयो । भइरहेको नागरिकलाई तँ नेपालीनै होईनस भनेर नेपाल सरकारले देखाउन थालेको व्यवहार गैर जिम्मेवारी रहेको समेत उहाँले बताउनु भयो । गैर आवासीय नेपाली संघले अहिलको स्थितीलाई जर्गेना गरेर अगाडी बढ्न नसके ठुलो समस्या आउने समेत उहाँको तर्क रहेको छ ।
उमेरले ७१ वर्ष टेकेका थापा आफुले मातृभूमि छाडेर आएकोमा पछुतो लागेको समेत गर्नु भएको छ । उनले नेपालीहरु विदेश आउनु वाध्यता भएको तर्क दिनुभएको छ । आफुहरुलाई नेपाल सरकारले विदेशी बनाएर गरेको व्यवहार विरुद्ध गैर आवासीय नेपाली संघमा आवद्ध नेतृत्वले लडनुपर्नेमा उहाँले जोडदिनु भयो । आफैआफै लडेर,फुटेर कमजोर हुनुभन्दा पनि गैर आवासीय नेपाली संघमा आवद्ध सबै नेपालीहरु एकजुट भई अगाडी बढ्न सके नेपालीपनको वातावरण बन्न सक्ने उहाँले बताउनु भयो ।
पछिल्लो समय गैर आवासीय नेपाली संघ दुर्घटनामा गएको बताउदै यसलाई समयमै समाधान गर्न नेतृत्व तहलाई थापाले आग्रह गर्नु भयो । नेपालमा गैर आवासीय नेपाली संघ लाई जुटाउन भन्दा पनि फुटाउन सक्रिय भएकाले यस्तो भएको उहाँको तर्क छ । आफुहरुलाई फुटाएर कमजोर बनाएर केही व्यक्ति निहित स्वार्थमा लागेको आरोप उहाँको रहेको छ ।
विदेशमा रहेका नेपालीहरुमा पनि चेतना आएको बताउदै थापाले जुन हिसाबले गैर आवासीय नेपाली संघ स्थापना भयो यसको उद्देश्य पुराहुन नसकेको उहाँको कथन छ । विदेशमा रहेका नेपालीहरुलाई एकजुट बनाउन स्थापन गरीएको संस्था मार्फत आफुले युरोपमा धेरै कार्यहरु गरेको बताउदै थापाले दुई दशक आफुले सकेको भुमिका निर्वाह गर्न पाउदा आफु सन्तुष्ट रहेको समेत बताउनु भयो ।
सुरुवात राम्रै भएपनि जब गैर आवासीय नेपाली संघ भित्र निर्वाचनको कुरो आयो यसपछि यसले ट्रयाक छोड्न थालेको थापाले बताउनु भयो । यसभित्र राजनिति हावी भयो र आफुलाई पनि बेवास्ता हुन थालेपछि आफुलाई पनि यो संस्थाप्रति खासै चासो हुन छाडेको उहाँको गुनासो छ । आफुलाई बारम्बार नेतृत्वको आशा जगाएर पन्छाएकोमा मन दुखेको बताउदै यसले कसैलाई पनि फाईदा नभएको र गैर आवासीय नेपाली संघ टुक्रन पुगेको उहाँले बताउनु भयो ।
सुरु देखी गैर आवासिय नेपाली संघको संरचनामा कमजोर रहेको स्वीकार गर्दै थापाले नेपालमा यसको महत्व बढ्दै जानु र संरचनामा ध्यान नदिनुनै अभिसाप रहेको उहाँले बताउनु भयो । गैर आवासीय नेपाली संघमा आफनो लगानी र मिहेनतको कदर हराउदै गएको आभाष आफुले पाएपछि यसबाट टाढाहुदै आएको उनको तर्क रहेको छ । उनले आफु माथि भएका गतिविधि जे जस्तो भएपनि गैर आवासीय नेपाली संघप्रति आफनो सदैव सहयोग र स्नेह रहने बताउनु भयो ।