हेटौंडा \ हेटौंडामा जारी पाँचौं संस्करणको सहिद स्मृति स्थानीय तह अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता–२०७९ को उपाधि मनाङ मर्स्याङदी क्लबको कब्जामा परेको छ । बुधबार दिउँसो हेटौंडा–५ स्थित पिप्लेक्याम्पा रंगशालामा भएको फाइनलमा हिमालयन शेर्पा क्लबलाई १-० गोलअन्तरले पराजित गर्दै मनाङ च्याम्पियन भएको हो ।
मनाङलाई उपाधि दिलाउन रोशन रानामगरले निर्णायक गोल गरेका थिए । उनले खेलको ७८ औं मिनेटमा गोल गर्दै आफ्नो टिमलाई उपाधि दिन सफल भए । रानामगरनै खेलको म्यान अफ दी म्याच समेत घोषित भए । उनले नगद १० हजार रुपैयाँ प्राप्त समेत गरेका छन् ।
मनाङले उपाधिसँगै नगद १५ लाख सहित मेडल र ट्रफि र हिमालयन शेर्पा क्लबले १० लाख रुपैयाँ नगद सहित ट्रफि र मेडल प्राप्त गरेका छन् ।
प्रतियोगितामा मनाङका कप्तान तथा गोलकिपर दीप कार्की सर्वोत्कृष्ट खेलाडी घोषित भए । उनलाई हेटौंडा स्कुल अफ म्यानेजमेन्टले प्रायोजन गरेको एक थान बुलेट मोटरसाइकल प्रदान गरिएको छ ।
यस्तै उत्कृष्ट गोलरकिपर मनाङका दीप कार्की, डिफेन्डर हिमालयन शेर्पाका अमित श्रेष्ठ , मिडफिल्डर मनाङका कमल थापा, फरवार्ड हिमालयन शेर्पाका योउमी र प्रशिक्षकमा मनाङका किरन श्रेष्ठ उत्कृष्ट घोषित भएका थिए । उनीलाई ट्रफि सहित जनही २५–२५ हजार नगद प्रदान गरिएको थियो ।
जिल्ला फुटबल संघ मकवानपुरको आयोजनामा भएको प्रतियोगिता माघ २८ गतेबाट सञ्चालन भएको थियो । प्रतियोगितामा एक विदेशी क्लब सहित १२ टोलीको सहभागिता रहेको थियो ।
हेटौंडा उपमहानगरका नगर प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यता तथा जिल्ला फुटबल संघका अध्यक्ष टिकाराम लामाको सभाध्यक्षतामा पुरस्कार वितरण तथा समापन कार्यक्रम भएको थियो ।