हेटौडा \ विद्यालय स्तरमा बालबालिकाको भाषा सुधारको लागि तल्लो (ईसिडी) तहबाटै सुधार गर्न जोड दिनुपर्ने जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललितबहादुर घलानले बताएका छन् । बिहिबार जिल्ला समन्वय समिति मकवानपुरको आयोजनामा विद्यालय स्तरमा भाषा सुधार प्रशिक्षण तथा छलफल एक दिवसीय कार्यक्रममा प्रमुख घलानले उक्त कुरा बताएका हुन् ।
अहिले राज्यका तीनै तहका सरकारले भौतिक पूर्वाधार निर्माण क्षेत्रहरूमा मात्रै बजेट विनियोजन गर्ने गरेको स्मरण गराउदै अब देखि शिक्षा क्षेत्रको तल्लो तहलाई पनि विशेष प्राथमिकतामा राखी बजेट विनियोजनको लागि सुझाएका थिए ।
हाम्रा बालबालिकाले सिक्ने र बोल्ने नेपाली र अंग्रेजी भाषा शुद्ध संग उच्चारण गर्नका लागि विद्यालय स्तरको तल्लो तह ईसीडी कक्षाबाटै सुधार गर्नु पर्ने महसुस गर्दै कार्यक्रमको आयोजना गरिएको प्रमुख घलानले बताए ।
भाषा सिकाइलाई प्रभाकारी बनाउन विद्यालयको तल्लो तहबाटै शुद्ध बोल्न सही अभ्यास गराएमा मात्रै बालबालिकाले पछिसम्म शुद्ध बोल्न सक्ने मकवानपुरका शिक्षा विकास समन्वय इकाइ प्रमुख दीनानाथ गौतम र नेपाली भाषा विज्ञ तथा प्रशिक्षक निमेष निखिलले साझा धारणा व्यक्त गरेका थिए । अहिले विद्यालय तहमा भाषा सिकाइका सीपहरू सिकाइ पनि उल्टोबाट हुने गरेको तथ्य फेला पारेको जिकिर गर्दै यसको सुधारमा ध्यानदिन जरूरी भएको बताएका छन् ।
शिक्षण सिकाइ प्रभावकारी हुन बालबालिकाको चाहना, भावना अनुरूप हुनुपर्ने नेल्टा मकवानपुरका उपाध्यक्ष उत्तम अर्याल र बालबालिकाको भाषा सुधारका सुधारका लागि विशेष गरी विद्यालय तहको ईसीडी कक्षाबाटै सुधार गर्नुपर्ने जिल्ला समन्वय समितिको निमित्त समन्वय अधिकारी सुनिता कुमारी गजुरेलले बताइन् ।
जिल्ला समन्वय समिति प्रमुख ललित घलानको प्रमुख आतिथ्यतामा तथा उपप्रमुख सानुकाजी लुँइटेलको सभाध्यक्षतामा भएको कार्यक्रममा मकवानपुरका दश स्थानीय तहका शिक्षा प्रमुख र प्रत्येक स्थानीय तहबाट ३-३ जना ईसीडी शिक्षकहरू लगायत विभिन्न सरोकारवाला संघसंस्थाका प्रमुख एवम् प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।