हेटौंडा \ हेटौंडा ५ मा रहेको सिद्धार्थ शिशु सदन विद्यालयको शुक्रबार ४३ औं अभिभावक दिवस मनाइएको छ । विद्यालयका प्रिन्सिपल निर्मल पराजुलीको सभाध्यक्षता तथा हेटौंडा उपमहानगरका मेयर मीना कुमारी लामाको प्रमुख अतिथ्यतामा दिवस कार्यक्रम गरिएको हो ।
कार्यक्रममा बोल्दै मेयर लामाले यस विद्यालयले छुट्टै इतिहास रहेको बताउँदै विद्यार्थीहरुलाई जुन किसिमको शिक्षा प्रदान गर्दै आइरहेको यसले निरन्तरता पाइरहोस् भनी शुभकामना व्यक्त गरेकी थिइन् । उनले आफु स्थानीय सरकार भएकाले संस्थागत विद्यालयमा जस्तै सामूदायिक विद्यालयहरुमा शैक्षिक गुणस्तर परिवर्तन गर्न लागि परिरहेको बताइन् ।
उनले संस्थागत विद्यालयको जस्तै सामूदायिक विद्यालयहरुमा सानो कक्षाबाट नै अंग्रेजी भाषालाई बढी प्राथमिकता दिन सकिए सबै विद्यार्थीहरु उत्कृष्ट बन्ने बताइन् । हेटौंडा उपमहानगर शैक्षिक क्षेत्रमा विभिन्न कार्यक्रम लिएर विद्यार्थीहरुलाई पठनपाठनमा थप हौसला प्रदान हुने खालका कामहरु गरिने बताइन् ।
कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष नवराज अर्याल, प्याव्सन बागमती प्रदेशका अध्यक्ष केशवलाल श्रेष्ठ, प्याव्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदी, अभिभावक व्यस्थापन समितिका सदस्य रन्जिता केसी लगायत विभिन्न व्यक्तिहरुको आतिथ्यता रहेको थियो ।
अभिभावक दिवसको अवसरमा विद्यालयले कक्षागत पहिलो, दोस्रो र तेस्रो स्थानगर्ने विद्यार्थी, एसईइमा उत्कृष्ट अंक ल्याउने विद्यार्थीहरु, विद्यालयले आयोजना गरेका खेलकुदका विजेताहरु, स्टुडेन्ट अफ द ईअर, डिसिप्लिन अफ द ईअर विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो । कक्षा १० सम्म पठनपाठन गरिने विद्यालयमा करिब एक हजार विद्यार्थी अध्ययनरत रहेका छन् ।