गैर आवासीय नेपाली संघ जर्मनका संस्थापक अध्यक्ष एवं पुर्व केन्द्रिय सल्लाहाकर दील गुरुङ्गले तीन दशक देखि जर्मनमा नेपाल चिनाउदै आएकाछन् । उनले नेपाली खाना तथा नेपाली सामान आयतको प्रचारमा विशेष ध्यान दिन सके अझ यसले व्यापकता पाउने बताएका छन् ।
यसका लागी कुटनैतिक तरिकाले पहल गर्न नेपाल सरकारलाई उनले आग्रह गरेकाछन् । सन् १९९४ देखी गुरुङ्गले जर्मनको बर्लीन शहरमा विभिन्न व्यवसायहरु गर्दै रेष्टुरेन्ट व्यवसायमा पनि हात हालेका थिए । उनले नेपाली खानाका परिकारहरुलाई विश्वसामु चिनाउन र प्रर्वद्धन गर्न आफु लागीपरेको समेत बताएका हुन ।
जर्मनमा शुन्य अवस्थामा रहेको नेपालीहरुको रेष्टुरेन्ट व्यवसायलाई गुरुङ्गलेनै खाता खोलेका थिए । सुरुमा एक्लो नेपाली रेष्टुरेन्ट व्यवसाय गर्दा निकै समस्या झेलेका उनले पछिल्लो समय बढेको व्यवसायीकरणले आफुमा हौसला तथा आँट थपिएको बताएका छन ।
अहिले जर्मनमा ३५ वटा सम्म रेष्टुरेन्ट संचालन भैरहेको बताउदै गुरुङ्गले स्थानीय व्यवसायीसंग प्रतिस्प्रर्धा गर्न नेपाली व्यवसायीहरुलाई निकै गाह्रो परेको गुनासो गरेका हुन । मुख्य रुपमा नेपालीहरुमा भाषा तथा लगानीका हिसाबले चुनौती थपिएको गुरुङ्गको भनाई छ । उनले जब सम्म नेपालीहरुमा धर्यता र भाषा तर्फ ध्यानदिने बानी पर्दैन तबसम्म जर्मनमा नेपाली व्यवसाय मौलाउन कठिन हुने उनले बताए ।
मनाङ्ग जिल्लाको विकट गाँउमा जन्मेका गुरुङ्ग उमेरले ६५ वर्ष टेके पनि अझै व्यवसाय क्षेत्रमा सकृय छन । उनमा अहिले पनि व्यवसायिक धारण र क्षमता उतिकै उर्जावान छ । उनले जर्मनको बर्लीनमा लामो समय देखी बुद्ध हाउस रेष्टुरेन्ट संचालन गर्दै आएका छन् । यो संगै नेपाली हयाण्डीक्राफट व्यवसाय समेत संचालन गरीरहेका उनी नेपालमा झिटिकुटी व्यवसायबाट यो क्षेत्रमा आएका हुन । आफुले घाटा सहेरपनि जर्मनमा नेपाली खानाको प्रचारका लागी व्यवसाय गरेको उनको तर्क छ । उनी नेपाली परिकारहरुलाई स्थापित बनाउने सोचमा रहेको बताउछन् ।
पछिल्लो समय नेपालमा मल्टिपाटी सिस्टम आएको बताउदै व्यवसायी गुरुङ्गले नेपाली जनताको जीवनस्थर सुधारका लागी देशका नेताहरुले चासो नलिएको गुनासो गरेकाछन् । नेपालमा विकासका सम्भावनाहरु प्रशस्त रहेपनि सिस्टम लागुहुन नसकेको उनको धारणा छ ।
विदेशमा रहेका नेपालीहरुमा पनि चेतना आएको बताउदै गुरुङ्गले जुन हिसाबले गैर आवासीय नेपाली संघ स्थापना भयो यसको उद्देश्य पुराहुन नसकेकामा चिन्ता लागेको उनी बताउछन् । गैर आवासीय नेपाली संघले विदेशमा रहेका नेपालीहरुको आवाजलाई बुलन्द गरेर विश्वमा छरिएका नेपालीहरुलाई एकठाउमा गाँस्न नसकेकोमा पनि चिन्ता व्यक्त गरेका छन् । गैर आवासीय नेपाली संघ भित्र देखिएको समस्या समाधान गर्न सबैको पहल हुनुपर्नेमा जोडदिदै उनले विभिन्न कार्यक्रमहरु गरेर यसलाई सकृय बनाउन सकिने बताएका छन् ।