हेटौंडा \ बालमैत्री पालिका घोषणाको तयारीमा जुटेको हेटौंडा उपमहानगरपालिकाले नगर र विभिन्न वडाहरुका सहजकर्ता तथा वडाका सम्पर्क व्यक्तिका लागि तालिम सञ्चालन गरेको छ ।
२०८० सम्म बालमैत्री घोषणाको तयारीमा रहेको उपमहानगरले नियुक्त गरेको १ नगर र १९ वडाका २० जना सहजकर्ता सहित सम्पर्क व्यक्तीहरुलाई बालमैत्री स्थानीय शासन सम्बन्धी क्षमता विकास तालिम दिएको हो ।
तालिमका क्रममा सजकर्ताहरुलाई नगरका विभिन्न वडामा रहेका घरहरुमा रहेको बालबालिकाको तथ्याङक संकलनका क्रममा गर्ने समन्वय तथा सहजिकरणका विषयमा जानकारी गराइने उपमहानगरका महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले बताइन् ।
उपमहानगरले हाललाई असार मसान्त सम्मका लागि नियुक्त गरेको सहजकर्ता टोलीलाई तालिमसँगै काममा परिचालन गरीने छ । तालिममा हेटौंडा उपमहानगरका प्रमुख तथा बालमैत्री स्थानीय शासन नगर समन्वय समितिका संयोजक मीनाकुमारी लामाले नगरले लिएको लक्ष्यलाई पुरा गर्ने जिम्मेवारी दृढताका साथ पुरा गर्न निर्देशन दिइन् ।
उपमहानगरले दिएको जिम्मेवारीलाई गम्भिर रुपमा लिर्दै समाज रुपान्तरणको काममा सक्रियताका साथ लाग्नु पर्ने बताइन् । उनले अनुशासित र मर्यादित भएर काममा लाग्दै नगरको विकासमा सहयोग पु¥याउने जोड दिइन् ।
उनले कामको गर्ने क्रममा समाजसँगै जोडिनका लागि जनप्रतिनिधीको आवश्यकता रहने भएकाले उनीहरुको सल्लाह सुझाव अनुसार काम गर्न सुझाव दिइन् । जनताबाट अनुमोदित भएको जनप्रतिनिधीलाई अटेर गर्ने काम नगर्न उनको भनाई थियो ।
उपमहानगरमा जागिर खुवाउन सहयोग गरेको भन्दै आउनेको कुरा नसुनि आफ्नै क्षमताले छनौंट भई काममा लागेको बुझ्न आग्रह गर्दै परनिर्भर होइन आत्मनिर्भर भएर काममा लाग्न नगर प्रमुख लामाले जोड दिइन् । चार दिन सम्म सञ्चालन हुने तालिममा बालमैत्री शासनका राष्ट्रिय प्रशिक्षक विष्णुप्रसाद चौथे प्रशिक्षकको रुपमा रहेका छन् ।
कार्यक्रम हेटौंडा उपमहानगरपालिका हेटौंडा उपमहानगरका प्रमुख तथा बालमैत्री स्थानीय शासन नगर समन्वय समितिका संयोजक मीनाकुमारी लामाको अध्यक्षतामा भएको थियो । उपमहानगरले बालमैत्री नगर घोषणाका लागि १ नगर सहजकर्ता, १९ वडा सहजकर्ता र ३० जना तथ्याङक संकलक गरी ५० जनालाई नियुक्त गरेको छ ।
सरकारले २०८७ सम्म नेपालललाई बालमैत्री राष्ट्र घोषणा गर्ने लक्ष्य कार्यान्वयनका लागि उपमहानगरले अभियान सञ्चालन गरेको हो । कार्यक्रममा १९ वटै वडाका निर्वाचित सदस्यहरु वडा सम्पर्क व्यक्तीका रुपमा तोकिएको छ ।