हेटौंडा \ बालमैत्री शासन कार्यान्वयनको चरणमा रहेको हेटौंडा उपमहानगरपालिकामा दुई वडामा बालविवाह रोकिएको छ । २०८० मंसिर सम्म बालमैत्री नगर घोषणाका लागि उपमहनगरले नियूक्त गरेको वडा सहजकर्ता तथा सम्पर्क व्यक्तिको सक्रियतामा हेटौंडा उपमहानगरको १४ र १७ नम्बर वडामा बालविवाह रोकिएको हो । दुबै वडामा फागुन १० गते हुन लागेको विवाह रोकिएको बताईएको छ ।
गाउँमा १८ वर्ष भन्दा मुनिका वालवालिकाको विवाहका लागि दुवै पक्ष तयारी अवस्थामा रहेको जानकारी पाएपछि कानुनी आधारमा विवाह गर्नका लागि नमिल्ने भनि जानकारी गराउँदै बालविवाह रोकिएको उपमहानगरका महिला तथा बालबालिका महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिइन् ।
नगरलाई बालमैत्री घोषणाको तयारीमा रहदा महाशाखाबाटै वडा र विद्यालयहरुमा सचेतनाका कार्यक्रम सञ्चालनका क्रममा जाँदा बालविवाह हुँदै गरेका जानकारी पाएपछि वडा सहजकर्ता र वडा कार्यालयले तोकेको सम्पर्क व्यक्तीलाई परिचालन गरेर विवाह रोक्ने कार्य भएको उनले बताइन् । उनका अनुसार यस अघि हेटौंडा उपमहानगरपालिका १९ मा वडाकार्यालय र जनप्रतिनिधीहरुको सक्रियतामा बालविवाह रोकिएको थियो ।
बालमैत्री उपमहानगर घोषणाको तयारीका क्रममा विभिन्न होटल तथा व्यवसायीक क्षेत्रमा प्रयोग भएका ७ जना बालबालिकालाई पुर्न स्थापनाको काम गरेको महाशाखाले जनाएको छ । अहिले यसै क्षेत्रका भन्दा पनि बाह्य जिल्लाबाट आएर हेटौंडाका विभिन्न होटल तथा अन्य क्षेत्रका कामगर्ने बालबालिकाहरु रहेको बताइएको छ । बाह्य जिल्लाबाट आएर काममा रहेका ३ जना बालबालिकालाई संस्थागत रुपमा पुर्नस्थापनाको काम भएको र ती मध्य एक जना हेटौंडामै परिवारबाट छुटाएर राखिएको महाशाखाले जनाएको छ ।
केहीलाई पारिवारिक रुपमा पुर्न स्थापनाको काम गरीएको छ । पारिवारिक रुपमा बालबालिकाको ख्याल पुर्ण रुपमा नगर्ने, बाबु आमा अव्यवस्थित ढंगबाट सडकमा नै रहने गरेकाले बच्चाको स्वास्थ्य अवस्था र लालनपालनलाई ख्याल गर्दै सस्गागत रुपमा पुर्नस्थापनाको काम गरिएको हो । विभिन्न समस्यामा परेको बालबालिकाको पुर्नस्थापना र व्यवस्थापनका लागि बालकोष स्थापना गरेका काम थालिएको महाशाखाले जनाएको छ ।
सरकारले २०८७ सम्म राष्ट्रलाई पुर्ण बालमैत्री घोषणाको तयारी गरे अनुसार हेटौंडा उपमहानगरले १ नगर र १९ वडा सहजकर्ता तथा ३० तथ्याङ संकलक गरी ५० जनालाई नियुक्ती दिएर २०८० मंसिर सम्म पालिकालाई बालमैत्री घोषणा गर्ने तयारी थालेको छ । यसअघि मकवानपुरका १० पालिका मध्य मनहरी, बकैया र मकवानपुरगढी गाउँपालिका बालमैत्री पालिका घोषणा भईसकेका छन् । बालमैत्री पालिका घोषणाका लागि वडा तथा तथ्याङक संकलकले ५१ वटा सुचकमा आधारित भएर काम गर्ने बताइएको छ ।