तस्विर: श्रीराम अर्जुन
हेटौंडा \ फागुन शुक्ल पूर्णिमाका दिन मनाइने फागु अर्थात् होली पर्वको रौनक बागमती प्रदेश राजधानी हेटौंडामा सुरु भएको छ । फागुन २२ गते पहाडी क्षेत्र र २३ गते तराई क्षेत्रमा यस वर्ष होली रहेको छ ।
हेटौंडाको विभिन्न स्थानहरुमा होली अंकित टिर्सट, कुर्था लगायत होलीका रंगहरु र बालबालिकाहरुले प्रयोग गर्ने पिच्कारीहरु विक्री वितरण सुरु भइसकेको छ । हेटौंडाको बुद्धचोक आसपास, राप्तिरोड, बसपार्क क्षेत्र र कपडा पसलहरुमा सेता टिसर्ट, भेष्ट, कुर्थाहरुमा होली अंकित रंगहरु रहेको कलर कपडाहरु विक्रि वितरण भइरहेको छ । गएका वर्षहरुमा सेता भेष्ट र टिसर्टहरु विक्री हुने गर्दथ्यो भने यस वर्ष बजारमा बालबालिका देखी युवायुवतीलाई समेत हुने गरी विभिन्न डिजाइनका कुर्थाहरु विक्रीका लागि राखिएको छ ।
२५० देखी ६ सय सम्मका ती कपडाहरु विक्रीमा राखिएको राप्तिरोडका राज कपडा पसलका संचालक राजकुमार दासले बताए । गएका वर्ष जस्तो यस वर्ष व्यापार त्यति नभएको उनले बताए । आर्थिक मन्दीले पनि होला नयाँ नयाँ डिजाइनका होलीका कपडा आउँदा पनि विक्री कम नै रहेको उनले बताए ।
वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिई आउने फागु पर्व २ वर्ष कोरोनाको प्रकोप पश्चात त्यति मनाइएको थिएन । गतवर्ष देखी भने हर्षोल्लासका साथ मनाइएको छ । खासमा फागु पूर्णिमा परम्परागत रूपमा विभिन्न रङ र लोला खेली मनाउने परम्परा छ । पछिल्लो समय भने उत्ताउलो रूपमा पानी हाल्ने, बिग्रेका अण्डाहरु प्रयोग गरिने गरिन्छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बढ्दो छ ।
विभिन्न स्थानमा सुरक्षाकर्मीहरु परिचालन गर्नुपर्ने अवस्था समेत आइसकेको छ । पहिले पर्व मनाउँदा प्रहरी प्रशासन परिचालन नहुने होली पर्वमा अहिले चोकचौतारामा प्रहरी खटाउनुपर्ने अवस्था सिर्जना भएको छ । त्यसकारण पछिल्लो समय फागुपूर्णिमा पर्वमा उत्ताउलोपन बढ्दो रुपमा रहेको प्रष्ट देखिन्छ । यस वर्षको होलीमा पनि दुई दिनै सुरक्षा व्यवस्था कडाई नै गरिने जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
त्रेता युगमा दैत्यराज हीरण्यकश्यपुले विष्णुभक्त आफ्ना पुत्र प्रह्लादलाई मार्ने उद्देश्यले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी आफ्नी बहिनी होलिकालाई प्रह्लादका साथ दन्किरहेको आगोमा पस्न लगाउँदा होलिका आफैँ भष्म भएकी तर भक्त प्रह्लादलाई आगोले छुन नसकेको कथा यस पर्वसँग जोडिएको छ । त्यसै बेलादेखि शक्तिको दुरुपयोग गर्ने पापी प्रवृत्तिकी प्रतीक बनेकी होलिका मारिएको उपलक्ष्यमा होली (फागु) खेल्ने परम्परा चलेको मानिन्छ ।