हेटौंडा \ चुनौतीको सामना सामूहिक अवधारणा सहित गर्ने र समस्यालाई आफैंबाट निराकरण गर्ने गरी ६ बुंदे प्रतिवद्धता पारित गरिएको हो । मकवानपुरमा रहेका विभिन्न बचत तथा ऋण सहकारी संस्थाका सचिवहरुको एक भेलाले उक्त प्रतिवद्धता पारित गरेका हुन् ।
शुक्रबार हेटौंडामा जिल्ला बचत तथा ऋण सहकारी संघको आयोजनामा भएको ७१ वटा सहकारीका सचिवहरुको भेलामा समसामयिक परिस्थितिमा संस्थाका समस्या, चुनौती, यसको सामनाका दीर्घकालीन उपायहरु, सचिवको भूमिका विषयक छलफल गरिएको थियो ।
भेलामा संस्थाका संभावित अनियमितताका छिद्रहरु, यसको पहिचान एवं समाधान गर्ने उपाय सहितको कार्यपत्र संघका अध्यक्ष कल्पना श्रेष्ठले प्रस्तुत गरेकी थिइन् भने संघको संस्थागत जानकारी व्यवस्थापक सुमित्रा कुमारी वाईबाले प्रस्तुत गरेकी थिइन् ।
संघका अध्यक्ष कल्पना श्रेष्ठको सभाध्यक्षतामा भएको भेलामा बागमती प्रदेश सहकारी विकास बोर्डका कार्यकारी उपाध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । बागमती प्रदेश पर्यटन तथा नागरिक उड्डयन एवं सहकारी मन्त्रालय रजिष्ट्रार नारायण प्रसाद ज्ञवाली, हेटौंडा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिमप्रसाद पौडेल लगायतकाको आतिथ्यता रहेको थियो ।
भेलामा सचिवको काम, कर्तव्य, अधिकारमा समन्वय, अभिलेख व्यवस्थापन र प्रशासनिक कार्य, सुरक्षाका विषयमा छलफल भएको थियो । भेलाबाट यी ६ बुंदे प्रतिवद्धताहरु परित गरिएको थियो । पर्याप्त तरलता कायम गर्नेछौं ।, नियमित आन्तरिक परिक्षण गर्नेछौं।, सुशासन र स्व-नियमनमा विश्वास गर्ने र सो बमोजिम जिम्मेवारी बहन गर्नेछौं।, सहकारी मुल्य मान्यता, सिद्धान्त, सहकारी ऐन, नियमको परिपालना हुने गरी विधि बनाई अधिकतम सदस्यको हितमा मात्र कार्य गर्नेछौं।, सहकारीको वर्तमान समयमा भएका समस्या र सहकारीको वास्तविक अवस्था सदस्यलाई जानकारी गराउनेछौं । र सदस्य केन्द्रीत कार्यक्रमलाई निरन्तरता दिने र सदस्यसँग निकट सम्बन्ध कायम गर्नेछौं ।