मनहरी \ बस्तीपुर जेसीज हाडिखोला वर्ष २०२३ को जेसीज सप्ताह कार्यक्रम सुरु भएको छ । १३ वटा विभिन्न कार्यक्रम गरि १३ औं स्थापना दिवस मनाउने उद्देश्यका साथ कार्यक्रम गरिरहेको छ । आज मंगलबार सप्ताहव्यापी कार्यक्रम अन्तरगत पाँचौं कार्यक्रम मनहरी गाउँपालिका वडा नम्बर ५ डिल्लीपुरमा लागुऔषध सचेतना कार्यक्रम गरिएको छ ।
वडा कार्यालयको सभाहलमा भएको कार्यक्रममा जेसीजका अध्यक्ष प्रेम गोङबाको सभाध्यक्षता तथा वडा अध्यक्ष दीपेन्द्र अधिकारीको प्रमुख आतिथ्यतामा लागुऔषध सम्बन्धी सचेतना कार्यक्रम भएको हो । कार्यक्रममा नेपाल जेसीज वर्ष २०२३ का उपाध्यक्ष तेजप्रसाद उप्रेती, कार्यक्रम संयोजक सफलचन्द्र कंडेल, वडा प्रहरी कार्यालय हेटौंडाका प्रहरी निरिक्षक केशर न्यौपाने, जेसीजका पूर्व अध्यक्षहरु लगायतकाको आतिथ्यता रहेको थियो ।
कार्यक्रममा विभिन्न रामजनितिक दलका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, स्थानीय नागरिक गरि करिब ८० जनाको सहभागिता रहेको थियो । लागु औषध सम्बन्धी बारे सचेतना प्रस्तुती प्रहरी निरिक्षक केशर न्यौपानेले गरेका थिए । भोली बुधबार विहान हेटौंडा १९ मा रहेको तपोवन मन्दिर परिसर सरसफाई कार्यक्रम रहेको छ भने अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा बस्तीपुर जेसीजको कार्यक्षेत्रमा रहेका विभिन्न विधाका उत्कृष्ट काम गर्ने नारीहरु सम्मान कार्यक्रम गरिने अध्यक्ष गोङ्बाले बताए ।
यस अघि पहिलो कार्यक्रम सर्वेश्वर मन्दिर हेटौडा–१९ स्थित वृध्दाश्रममा खाद्यान्न वितरण गरि जेसीज सप्ताहको समुद्घाटन तथा जेसीज सप्ताह कार्यक्रमको सुरुवात गरिएको थियो । त्यस्तै, दोस्रो कार्यक्रम जेसीज सचिवालयमा नेपालको र जेसीजको झण्डाको झन्डात्तोलन गरिएको अध्यक्ष प्रेम गोम्बाले बताए ।
सप्ताह कार्यक्रम अन्तरगत सोमबार फागु पर्व(होली) को अवसरमा शुभकामना आदानप्रदान तथा होली खेल्ने कार्यक्रम गरिएको थियो । चौथो कार्यक्रम अन्तरगत जेसीज सचिवालय परिसर सरसफाइ कार्यक्रम गरिएको थियो ।