हेटौंडा \ बुधबार ८ मार्च, अर्थात् ११३ औं अन्तर्राष्ट्रिय नारी दिवसका सन्दर्भमा बागमती प्रदेशका प्रदेश प्रमुख यादवचन्द्र शर्माले सम्पूर्ण नेपाली नारीहरुमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गर्नुभएको छ ।
प्रदेश प्रमुख शर्माले शुभकामना सन्देश जारी गर्नुहुँदै ‘लैंगिक समानताको बलियो आधारः सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार’ भन्ने नाराका साथ नेपालमा पनि मनाइँदै गरिएको दिवसका सन्दर्भमा शुभकामना दिनुभएको हो ।
प्रमुखको शुभकामना सन्देशमा लैंगिक समानताका लागि नेपालको संविधान तथा राष्ट्रिय, अन्तराष्ट्रिय कानूनले महिला हक(अधिकारलाई सुनिश्चित गरेको उल्लेख छ । प्रमुख शर्माले लैंगिक विकास र सशक्तीकरणका विविध आयामहरुमध्ये आर्थिक, सामाजिक, राजनीतिक तथा संस्थागत सशक्तीकरण गर्दै सामाजिक विभेद, हिंसा, अन्याय अन्त्य गर्नुपर्ने बताउनुभएको छ ।
यसका लागि समाजका सबै वर्ग, समुदायको समान सहभागिता र योगदान आवश्यक पर्नेमा जोड दिँदै प्रमुख शर्माले भन्नुभएको छ,‘शिक्षा,स्वास्थ्य, सामाजिकीकरणजस्ता महिला सशक्तीकरणमा दरिलो पाइला अगाडि बढाउन सबै क्षेत्रका नारी(पुरुषहरुले हातेमालो गर्दै अघि बढ्नु नितान्त आवश्यक छ ।’
नारीलाई पहुँच तथा विकासमा समान सहभागिता गराउँदै अघि बढ्न यो दिवसले प्रेरित गरोस् भँन्ने कामना पनि प्रदेश प्रमुख शर्माको छ । ‘पितृसत्तात्मक सोचलाई परास्त गर्दै नारीलाई रोजगारीमा अवसर,न्यायमा सहज पहुँच तथा विकासमा समान सहभागिता गराँउदै अघि बढ्न हामी सबैलाई यो दिवसले प्रेरित गरोस् ।’ प्रमुखको शुभकामना सन्देशमा छ ।