हेटौडा \ हेटौंडा-१ चौकीटोलमा गत शनिबार एकजनाको मुत्यु भएको दुर्घटनामा प्रहरीले अनुसन्धानमा ढिलाई गरेको आफन्तले गुनासो गरेका छन् । शुक्रबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मृतकका भाइ दीपक सापकोटा र भतिज रोशन सापकोटाले घटनाको अनुसन्धानमा ढिलाई भएको गुनासो गरेका हुन् । उनीहरूले घटना भएको एक साता हुन लाग्दा समेत अनुसन्धान निष्कर्षमा नपुगेको भन्दै प्रहरीको कार्यशैलीमाथि आशंका गरेका छन् । प्रहरीले घटना गराउने सवारी र चालक नियन्त्रणमा लिएको जनाए पनि अझै पुष्टि गर्न नसक्दा अनुसन्धानमा चलखेलको आशंका रहेको दीपक सापकोटाले बताए ।
पत्रकार सम्मेलनमा सापकोटाले प्रमाण नष्ट हुन सक्ने, घटनामा संलग्न व्यक्ति फेरबदल भएको हुन सक्ने, प्रहरी दवाब र प्रभावमा पर्न सक्ने भन्दै निष्पक्ष छानविनका लागि सहयोगको आग्रह गरेका छन् ।
यता, मकवानपुरका प्रहरी उपरीक्षक बामदेव गौतमले घटनाको अनुसन्धान भईरहेको बताएका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरमा पीडित, संचारकर्मी, नागरिक समाज र सरोकारवालाहरूसंगको छलफलमा पीडित पक्ष र सरोकारवालाहरूले राखेको चासोलाई सकारात्मक लिएको भन्दै निष्पक्ष अनुसन्धान हुने गौतमले बताए ।
अनुसन्धानको क्रम जारी रहेकाले धेरै कुरा अहिले नै भन्न नमिल्ने भन्दै गौतमले एउटा स्कार्पीयो र त्यसका चालक नियन्त्रणमा लिई अनुसन्धानका लागि जिल्ला अदालत मकवानपुरबाट ७ दिनको म्याद थप गरिएको बताए । घटनासँग जोडिएका विभिन्न व्यक्तिसँग बयान लिने, सिसीटिभि फुटेज संकलन र विश्लेषण गर्ने, कल डिटेल झिकाउने, पोलिग्राफ परीक्षणका लागि प्रक्रिया अघि बढाउने जस्ता अनुसन्धानका प्रक्रिया भईरहेकोले अनुसन्धानमा आशंका नगर्न प्रहरी उपरिक्षक गौतमले आग्रह गरेका छन् ।
अनुसन्धानको दायरालाई फराकिलो बनाई सबै ढंगबाट विश्लेषण हुने भएकाले घटनामा संलग्न दोषिमाथि कारवाही हुनेमा ढुक्क हुन उनले आग्रह गरेका छन् । त्रिभुवन राजपथ अन्तर्गत हेटौंडा–१ चौकीटोल तिरतिरेधारा नजिक फागुन २० गते हेटौंडा आउदै गरेको ना ४६ प २३७१ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा हेटौडा–६ का अन्दाजी कृष्ण प्रसाद सापकोटाको मृत्यु भएको थियो । उनी २२ वर्षदेखी सरकारी सेवामा सक्रिय रहेका थिए ।