महोत्तरी \ जागरुक युवा समाज नेपालले महोत्तरीका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको छ । मधेश प्रदेश स्थित गौशाला नगरपालिका वडा नं। १ महोत्तरी बान्हटोल रामनगरमा रहेको राष्ट्रिय आधारभूत विद्यालयमा अध्ययनरत १२५ जना विद्यार्थीहरुलाई शैक्षिक सामाग्री वितरण गरेको हो ।
गौशाला नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नवीन कुमार साह, विद्यालय व्यवस्थापन समिति सदस्य सरितादेवी महत्तो, जागरुक युवा समाज नेपालका सचिव सन्त मोक्तान लगायतकाले संयुक्त रुपमा शैक्षिक सामाग्री कापी, कलम, पेन्सिल हस्तान्तरण गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी १ नं वडा अध्यक्ष साहले मधेशमा पिछडिएका वर्ग शिक्षाप्रति उदासिन भईरहेको अवस्थामा जागरुक युवा समाजले जागरुकता र उत्सुक्ताको साथ निम्न वर्गका छात्रछात्रालाई शिक्षण सामाग्री प्रदान गरेकोप्रति प्रशंसा व्यक्त गरे । शिक्षा सुधारकै नीति लिएर वडा कार्यालयले काम गर्ने बताउँदै साहले जागरुक युवा समाजले जागरुकता बढाउने काम गरेको भन्दै विशेष धन्यवाद प्रकट गरे ।
कार्यक्रममा बोल्दै राष्ट्रिय आधारभूत विद्यालयका प्रध्यानाध्यापक जय किशोर मण्डलले शिक्षा क्षेत्रमा जागरुक युवा समाजले गरेको काम उच्च मुल्याङकन गर्न योग्य रहेको जिकिर गर्दै शैक्षिक सामाग्री पाए संगै विद्यार्थीहरु पनि खुसी हुनुका साथै विद्यालय नियमित आउने प्रतिवद्धता जनाएको बताए । उनले सहयोग गर्ने कतारमा रहेका यस संस्थाका सम्पूर्ण नेपालीहरुलाई धन्यवाद दिर्दै कतारमा रहेका नेपालीले गरेको परिश्रमबाट नेपालमा गरेको सहयोग कदर योग्य भएको बताए ।
कार्यक्रममा स्वास्थ्य कार्यालयका प्रतिनिधि होम बहादुर श्रेष्ठ, चन्द्रेश्वर महत्तो, प्रदिप कुमार साह, विद्यालयका शिक्षक, सहयोगी, पत्रकार लगायतकाको उपस्थिती रहेको थियो ।
नेपाल र नेपाली प्रति समर्पित रहेको जागरुक युवा समाज २०१४ मा स्थापना भएर २०१८ मा औपचारिक रुपमा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा दर्ता भई संचालनमा रहेको अध्यक्ष यादव चौलागाईले बताए । संस्थाले प्राकृतिक विपत्तिका बेला नेपालका विभिन्न स्थानमा सहयोग गर्दै आएको छ । सिन्धुपाल्चोक जिल्लामा भूकम्प जाँदा, स्याङजामा आगलागी पीडित, रवि लामिछाने मार्फत सप्तरीमा बाढीपहिरो पीडितलाई सहयोग गर्दै आएको उनले जानकारी दिए ।
महान नेपाली आविष्कारक, नेपाली वैज्ञानिक महावीर पुनले संचालन गरेको राष्ट्रिय आविष्कार केन्द्र तथा सामाजिक क्षेत्रमा सहयोग गर्दै आएको अध्यक्ष चौलागाईले बताए । संस्थाले बागमती प्रदेशको राजधानी हेटौंडा स्थित पदमपोखरी क्षेत्रमा कमजोर आर्थिक अवस्था भएकाकालाई सहकारी मार्फत न्यून ब्याजदरमा ऋण समेत उपलब्ध गराएको छ ।
वैदेशिक रोजगारीका क्रममा कतारको राजधानी दोहा स्थित कतार एयरवेजमा कार्यरत नेपालीहरुले आफुले प्राप्त गर्ने तलबबाट वार्षिक ७० रियाल बचत गरेर नेपालमा सहयोग गर्दै आएको छ । संस्थाका सदस्य विरामी पर्दा संस्थाले सदस्यता कल्याणकारी कार्यक्रम मार्फत सहयोग समेत गर्ने गरेको छ ।