हेटौंडा \ हेटौंडा उपमहानगरपालिकाले मुख्य बजार क्षेत्रको बाहिर देखिएका तारलाई भूमिगत गर्ने भएको छ । जथाभावी देखिएका तारका कारण बजार क्षेत्रको सौन्दर्यमा कमी आएको भन्दै उपमहानगरले मुख्य बजार क्षेत्रका तारहरुलाई भूमिगत गर्ने निर्णय गरेको छ ।
मंगलबार बसेको उपमहानगरको २० औं कार्यपालिका बैठकले हेटौंडाको मुख्य बजार क्षेत्रको रुपमा रहेको १, २, ४, १० र ५ को केही भागका पोलमा रहेको तारलाई भूमिगत गर्ने निर्णय भएको हो । तार व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरणलाई कार्यपालिकाको बैठकको निर्णयसँगै सिफारिस पत्र पठाउने तयारी भएको उपमहानगरले जनाएको छ ।
बैठकले हेटौंडा उपमहानगरलाई उज्यालो शहरको रुपमा विकास गर्नका लागि नगरका विभिन्न ठाउँमा ‘हाइ मास्ट लाइट’ राख्ने निर्णय गरेको छ । उपमहानगरका १९ वटै वडालाई लक्षित गर्दै लाईटको व्यवस्थापनका लागि नेपाल विद्युत प्राधिकरणसँग छलफल भईरहेको जनाएको छ ।
बजारसहित नगरका सबै वडालाई समेटेर लाइटको व्यवस्थापनका लाग्ने निर्णय भएको उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले बताइन् । उनले भनिन ‘पहिले बजार केन्द्रित व्यवस्थापनको कुरा गरीएको थियो तर अहिले नगरका सबै वडामा आवश्यकता अनुसार लाईट राख्ने तयारी गरेका छौं ।’ उनले भनिन्–लाईट राख्ने ठाउँ र संख्या बारे अध्ययन भईरहेको छ ।
लाईटका लागि विधुत प्राधिकरणसँग सामान्य सहमति बनिसकेको बताइएको छ । सहमति अनुसार ४० प्रतिशत अनुदान प्राधिकरणले दिने छ भने ६० प्रतिशत लगानी उपमहानगरले गर्ने भएको छ । पहिलो चरणमा उपमहानगरले हाइ मास्ट लाइटका लागि ६० लाख रुपियाँ बजेट छुट्याएको शहरी पुर्वाधार विकास महाशाखाका प्रमुख सत्यनारायण साहले बताए ।
पहिलो चरणमा २५ वटा १० देखी १६ मिटर उचाई भएका लाईटको माग गर्ने तयारी उपमहानगरले गरेको उनले बताए । त्यस्तै कार्यपालिका बैठकले उपमहानगर प्रवेशको ४ स्थानमा सार्वजनिक शौचालय निर्माण गर्ने निर्णय गरेको छ । बैठकले नगरको पुर्वमा १८, पश्चिममा १९, दक्षिणमा १५ र उत्तरमा १ नम्बर वडा क्षेत्रको पाएक पर्ने स्थानमा आवत जावत गर्नेका लागि सहज हुने गरी शौचालय निर्माण गर्ने निर्णय गरेको हो । त्यस्तै न्यून आय भएका गरीव तथा विपन्न परिवारका ६६३ जनाको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरेको छ ।
नगर स्तरीय स्वास्थ्य बीमा लाभग्राही छनौंट समितिले २०७९ फागुन ११ गते गरेको निर्णयबाट भएको सिफारिस अनुसार उनीहरुको स्वास्थ्य बीमा गरीने निर्णय भएको प्रवक्ता सविन न्यौपानेले बताए । बैठकले सार्वजनिक पुर्वाधार सम्पत्ती संरक्षण, उपमहानगरको पाठ्क्रम निर्माण तथा कार्यान्वयन कार्यविधी २०७७ संसोधन, बाटो सार्वजनिक, घर नक्सा अभिलेखिकरण तथा नियमित गर्ने , अनलाईन नक्सा पास सहित विभिन्न खेलमैदान निर्माण सम्बन्धी निर्णय भएको प्रवक्ता न्यौपानेले जानकारी दिए ।