हेटौंडा \ कक्षाकोठाको अभावका कारण अध्यापनमा समस्या व्यहोर्दै आएका हेटौंडा-११ सिमलटारको शंकरज्योति आधारभूत विद्यालयको समस्या केहि टरेको छ ।
नियमित अध्यापनमा उचित भवनको अभावका कारण नियमित पर्दै आएको समस्या सोमबारबाट टरेको हो । विद्यालयको २७ औं अभिभावक भेला तथा ४ कोठे नवनिर्मित भवनको हेटौंडा उपमहानगरपालिकाका प्रमुख मीनाकुमारी लामाले उद्घाटन गरेसँगै अध्यापनमा नियमित पर्दै आएको समस्या केही टरेको हो ।
जिल्ला कार्यक्रम कार्यान्वयन इकाइ (शिक्षा) ले ७० लाख रुपियाँको लागतमा निर्माण गरेको भूकम्प प्रतिरोधात्मक भवनको नगर प्रमुख लामाले उद्घाटन गरेकी हुन् । भवन तथा अभिभावक भेलाको उद्घाटन गर्दै नगर प्रमुख लामाले सामुदायिक विद्यालयमा दिर्दै आएको शिक्षामा सुधार आवश्यक रहेको बताइन् ।
उनले पुर्वाधारका हिसाबले सामुदायिक विद्यालय अब्बल देखिए पनि शिक्षाको गुणस्तरमा कम्जोर रहेको भन्दै उनले सुधार आवश्यक रहेको बताइन् । उनले विद्यालयमा शिक्षकले दिएको शिक्षाको मात्र भर परेर नबस्न अभिभावक हरुलाई आग्रह गरीन् । विद्यालयमा लिएको शिक्षासँगै आफुले पनि घरमा बालबालिकाको अवस्था, बिचार र धारणाका बारे जानकार हुन आवश्यक रहेको उनको भनाई थियो ।
विद्यालयमा गएको आफ्नो बालबालिकाको पढाईको अवस्था, साथी संगतका कुरामा ध्यान दिन सकेमात्र आफ्ना बालबालिका अब्बल हुन सक्ने भन्दै नगर प्रमुख लामाले अभिभावकहरु चनाखो हुन जरुरी रहेको बताइन् ।
कक्षा ८ सम्मको अध्यापन हुने विद्यालयमा रहेको पुरानो कच्ची भवनहरु जिर्ण हुँदै गएसँगै भवन अभावका कारण समस्या हुँदै आएको थियो । करिब ५ सय विद्यार्थी रहेको विद्यालयमा अहिले पनि भवनको अभाव रहेको अभिभावक भेलामा प्रधानाध्यापक मुकुन्द न्यौपानेले बताए । उनले पुराना भवन जिर्ण हुँदै गएकाले विद्यालयका लागि थप ८ कोठाको नयाँ पक्की भवन आवश्यक रहेको बताए ।
प्रधानाध्यापक न्यौपानेले अभिभावक भेलामा प्रस्तुत गरेको प्रतिवेदन अनुसार राप्ति किनारमा रहेको विद्यालयमा गर्मीको समयमा पानीको अभाव हुने भएकाले विद्यालयमा समस्या हुने उल्लेख छ । हेटौंडा–११ नम्बर वडा कार्यालयले ४ कोठे ट्रस भवन निर्माणको लागि छुट्याएको ८ लाख बाट निर्माण असम्भव रहेकाले थप २० लाख रुपियाँ आवश्यक रहेको बताइएको छ ।
उनले गर्मीको समयमा विद्यार्थीहरुको लागि प्रशस्त पानी चाहिने हुँदा विद्यालयले पानीको अभाव हुन नदिनका लागि बोर्रिङ गर्न आवश्यक रहेको बताए । अभिभावक भेलामा प्रधानाध्यापक न्यौपानेले प्रस्तुत गरेको प्रतिवेदनमा विद्यालयले आर्थिक वर्ष २०७७÷०७८मा १ करोड ११ लाख ३७ हजार बराबरको आयव्यव गरेको उल्लेख छ ।
अभिभावक भेलाले विद्यालयको पुर्व शिक्षक रामबहादुर थापालाई बिदाई गरेको छ भने उत्कृष्ठ शिक्षकको रुपमा कविता गौतम, विन्दुसिं ठकुरी र सुशीला न्यौपानेलाई सम्मान गरेको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सुर्यबहादुर खुलालको अध्यक्षतामा भएको अभिभावक भेला तथा विद्यालय भवन उद्घाटनमा हेटौंडा–११का वडा अध्यक्ष जुना दाहाल, वडा सदस्य गोपिनी सापकोटा, विकास नेपाल, गीता सुनार, उपमहानगरका शिक्षा विकास अधिकृत रमेश विडारी, टोल विकास संस्या वडा समन्वय समिति अध्यक्ष यज्ञबहादुर आचार्य, विद्यालय व्यवस्थापन समितिका पुर्व अध्यक्ष कमलचन्द्र सुमन लगाएतको आतिथ्यता रहेको थियो ।