हेटौंडा \ नेपालमा वार्षिक सरदर १६ हजार क्षयरोगीहरुको मृत्यु हुने एक तथ्याङ्कले देखाएको छ । शुक्रबार विश्व क्षयरोग दिवस २०२३ को अवसरमा हेटौंडामा बागमती प्रदेश स्वास्थ्य निर्देशनालयद्धारा आयोजित पत्रकार सम्मेलनमा नेपालमा प्रतिवर्ष १६ देखि १७ हजार सम्मका क्षयरोग लागेका विरामीहरुको मृत्यु हुने बताइएको हो ।
राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क अनुसार नेपालमा वार्षिक ६४ प्रतिशत पुरुष र ३६ प्रतिशत महिलाहरुको मृत्यु हुने देखाएको छ । सरदर प्रतिदिन १२३ नयाँ रोगी पत्ता लगाउने, १८ जनाको मृत्यु हुने र ३४ जना हराउने गरेको स्वास्थ्य निर्देशनालयका क्षयरोग फोकल पर्सन जीतेन्द्र कुमार कर्णले बताए ।
उनका अनुसार बागमती प्रदेशमा क्षयरोग लागेका रोगी पत्ता लगाउने कार्यमा आव २०७८\७९ मा दोलखामा ६२ जना, सिन्धुपाल्चोकमा २३५ जना, रसुवामा ४० जना धादिङमा तीन सय जना, नुवाकोटमा २१७ जना रोगी रहेको बताए । त्यस्तै, काठमाडौंमा तीन हजार ६७३ जना, भक्तपुरमा ६५८ जना, ललितपुरमा ९०१ जना, काभ्रेमा तीन सय जना, रामेछापमा ११५ जना, सिन्धुलीमा ३७४ जना, मकवानपुरमा ६८० जना र चितवनमा एक हजार १९७ जना रहेको बताएका छन् ।
बागमती प्रदेशभरमा १४ हजार ६१९ पत्ता लगाउने टाग्रेट रहेता पनि ८ हजार ७५२ जना रोगी पत्ता लगाइएको कर्णले बताए । मकवानपुरमा क्षयरोग लागेको विरामीहरुमा तीन प्रतिशत विरामीको मृत्यु भएको तथ्याङ्कले देखाएको छ । क्षयरोग लाग्ने व्यक्तिको उमेर प्रायः १५ वर्षदेखी ५० वर्ष सम्मको मानिसहरुको संख्या बढि रहेको छ ।
नेपाल सरकारले सन् २०५० मा नेपाललाई क्षयरोग मुक्त बनाउने योजना सहित डट्स नीति ल्याएसँगै कार्य सुरुवात गरिएको पाइएको छ । डट्स नीतिले विरामीको प्रत्यक्ष निगरानीमा उपचार रहने हुँदा यसको प्रभावले सार्थकता पाइने कर्णले बताए ।
पत्रकार सम्मेलनमा क्षयरोगको उपचार व्यवस्थापन बारे जानकारी गराइनुका साथै बागमती प्रदेशको चितवन र कर्णाली प्रदेशको प्युठानमा सुश्म अवस्थामा रहेका क्षयरोगको अध्ययन गर्न डिआर सेन्टर सञ्चालन गर्ने तयारीमा रहेको स्वास्थ्य निर्देशनालयका निर्देशक महेश्वरमान श्रेष्ठले बताए । यसले गर्दा सन् २०५० को योजना सफल पार्न सकिने बताएका छन् ।
बागमती प्रदेशमा ४ वटा स्थानीय तहले क्षयरोग मुक्त तह बनाउन सफल भएका छन् । निर्देशक श्रेष्ठका अनुसार मकवानपुरको थाहा नगरपालिका, काठमाडौंको शंकरापुर नगरपालिका, भक्तपुरको चागुँनारायण नगरपालिका र काभ्रेको धुलिखेल नगरपालिकाले क्षयरोग मुक्त स्थानीय तह घोषणा गरेको छ ।